ह्युमपाइप राखेर यातायातमार्ग जोडिदै
बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले पुल र सडक तहसनहस पारेको नुवाकोटको भैंसेस्थित त्रिशूली नदीमा ह्युमपाइप राखेर यातायातमार्ग जोडिएको छ । विदुर नगरपालिका १० को भैंसे र बिदुर नपा ७ तुप्चे जोड्न नदीमा ह्युमपाइप राखेर अस्थायी मार्ग निर्माण गरिएको छ ।
गत भदौ १० गत वुधवार आएको प्रलयकारी बाढीपछि नदीमा रहेको पक्कि र झोलुंगेपुल ध्वस्त भएपछि अवरुद्ध भएको सडकमार्ग त्रिशूली नदीस्थित भैंसेमा ह्युमपाइप राखेर वारपार गर्ने मार्ग निर्माण गरिएको छ । विदुर नगरपालिकाको समन्वय र निर्माण व्यवसायी संघ नुवाकोटको पहलमा उक्त मार्ग निर्माण गरिएको हो ।

निर्माण कार्यमा शेर्पा संघ नेपालले ढुवानी तथा संरचना हाल्ने प्राविधिक सहयोग गरेको छ । निर्माण व्यवसायी ग्याल्जे लामाशेर्पाले व्यक्तिगत आर्थिक सहयोग गरेका छन् ।
उक्त ह्युमपाइप जडानको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले छिट्टै आवतजावत सुचारु हुने जनाइएको छ । त्रिशूली नदीस्थित भैंसेमा ह्युमपाइप राखेर भैँसे–तुप्चे जोड्ने कार्य अन्तिम चरणमा पुगेको छ । सवारी सञ्चालनको तयारी भइरहेको बिदुर नपा ७ का वडाध्यक्ष रवीन्द्र नेपालले जानकारी दिए ।

उनका अनुसार भैँसेबाट तुप्चे जोड्ने गरी ह्युमपाइप राखेर निर्माण भइरहेको अस्थायी सडकको काम अन्तिम चरणमा पुगेको छ । निर्माण सम्पन्न भएसँगै भोलिदेखि नै सवारीसाधन सञ्चालन गर्ने तयारी गरिएको छ । तीन महिना अगाडिको विनासकारी बाढीपछि नुवाकोट, रसुवामा त्रिशूली नदी वारपार गर्न मिल्ने गरी निर्माण भइरहेको उक्त अस्थायी संरचना नै नजिकको एकमात्र संरचना हुने वडाध्यक्ष नेपालको भनाई छ । यसले नदीपारिका बासिन्दा तथा यात्रुलाई आवतजावतमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । उक्र स्थानवाट नुवाकोट र रसुवाको पश्चिमी भेग जाडिने छ ।















































