नेपालका अग्रणी नायिकाहरु सम्मानित

– दिइयो तीन देवी उपनाम
लोकखवर मनोरन्जन संवाददाता
२०८३ आश्विन १६, शुक्रबार २३:३३

बिदुर– नेपाली चलचित्र क्षेत्रका तीन जना अग्रणी नायिकाहरु सम्मानित भएका छन् । तीन देवी उपनाम दिदै कार्यक्रमकावीच तीन वरिष्ठ अभिनेत्रीहरुलाई सममानित गरिएको हो । राष्ट्रिय चलचित्र दिवसको अवसरमा नेपालको पहिलो चलचित्र ‘आमा’ का तीन अग्रणी नायिकाहरूलाई ‘तीन देवी’ सम्मान प्रदान गरिएको हो । नेपाली चलचित्रको सिर्जना, विकास र समृद्धिमा निरन्तर योगदान पु¥याउँदै आएका व्यक्तित्वहरूलाई सम्मान र ‘शारदा’ मासिक पत्रिकाको विमोचन समेत गरिएको हो ।

नेपाल चलचित्र कलाकार संघको आयोजनामा नेपाली चलचित्र इतिहासको पहिलो चलचित्र ‘आमा’लाई केन्द्रमा राख्दै विशेष कार्यक्रम सम्पन्न गरेको हो । आयोजित कार्यक्रममा नेपाली चलचित्रको पहिलो पुस्ताका कलाकार तथा ‘आमा’ चलचित्रका तीन अग्रणी नायिका भुवन चन्दथापा, चैत्यदेवी सिंह र वसुन्धरा भुसाललाई सम्मानित गरिएको होे । कार्यक्रममा नेपाली चलचित्रको इतिहास, त्यसको प्रारम्भिक चरणमा कलाकारले निर्वाह गरेको भूमिका तथा चलचित्रका गीत–संगीतको योगदानबारे चर्चा गरिएको थियो । सोही अवसरमा विमल भौकाजीको सम्पादनमा प्रकाशित ‘शारदा’ पत्रिकामा समेटिएका नेपाली चलचित्रका गीतसम्बन्धी सामग्रीको विमोचनसमेत गरिएको हो ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा ‘आमा’ चलचित्रका तीन अग्रणी नायिकाहरुलाई विशेष सम्मान गरिएको होे । यसअघि, तीनैजना अग्रज कलाकार तथा अध्यक्ष उत्तम केसीले संयुक्त रूपमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा नेपाल चलचित्रको पहिलो पुस्ताका कलाकार तथा चलचित्रकर्मीको योगदानको स्मरण गर्दै भुवन चन्दथापा, चैत्यदेवी सिंह र वसुन्धरा भुसाललाई नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी र महासचिव सुनील कटुवालले खादा, माला तथा दोसल्ला ओढाएर सम्मानित गरेका हुन् । उक्त अवसरमा ‘शारदा’ पत्रिकाका सम्पादक विमल भौकाजीलाई समेत सम्मान गरिएको छ ।

विमल भौकाजीको सम्पादनमा प्रकाशित ‘शारदा’ पत्रिकामा नेपाली चलचित्रका गीत तथा गीत–संगीतसँग सम्बन्धित विषयवस्तुलाई समेटिएको छ । चलचित्रका गीतले नेपाली चलचित्रको विकासक्रममा पु¥याएको योगदान तथा पुराना गीत–संगीतको संरक्षणको आवश्यकताबारे कार्यक्रममा चर्चा गरिएको थियो । कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठ, विशिष्ठ कलाकार लय संग्रौला, संघका निवर्तमान अध्यक्ष मोहन निरौला, चलचित्र संघका अध्यक्ष गोपालकाजी कायस्थ, विमल भौकाजी, लव प्याकुरेललगायतले राष्ट्रिय चलचित्र दिवस, नेपाली चलचित्रको इतिहास तथा ‘आमा’ चलचित्रसँग सम्बन्धित विभिन्न विषयमा आ–अफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा वक्ताहरूले नेपाली चलचित्रको प्रारम्भिक यात्रालाई स्मरण गर्दै पहिलो पुस्ताका कलाकार तथा प्राविधिकले सीमित स्रोतसाधनका बाबजुद चलचित्र क्षेत्रको विकासका लागि गरेको योगदानको चर्चा गरेका थिए । विशेषगरी ‘आमा’ चलचित्र नेपाली चलचित्रको इतिहासमा महत्वपूर्ण आधारका रूपमा रहेको उल्लेख गर्दै वक्ताहरूले यससँग जोडिएका कलाकार तथा सिर्जनाकर्मीको योगदानलाई नयाँ पुस्ताले समेत सम्झनुपर्नेमा जोड दिएका थिए । चलचित्रका गीत–संगीत नेपाली समाज र संस्कृतिको अभिन्न हिस्सा बनेको उल्लेख गर्दै पुराना चलचित्रका गीत, संगीत र सिर्जनालाई अभिलेखीकरण तथा संरक्षण गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको थियो ।

कार्यक्रममा ‘आमा’ चलचित्रकी अग्रणी नायिका वसुन्धरा भुसालले नेपाली चलचित्रको प्रारम्भिक समयको अनुभव स्मरण गर्दै चलचित्र क्षेत्रमा आफूहरूले भोगेका संघर्ष र अनुभवबारे धारणा व्यक्त गरिन् । आयोजक संघका अध्यक्ष उत्तम केसीले अग्रज कलाकारको सम्मान र नेपाली चलचित्रको इतिहास संरक्षण गर्न कलाकार संघले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । कार्यक्रममा मनोज आचार्य, पुजना प्रधानगुरुङ, जीवन थापा, लव्लीसंगम राई, पुकार भट्टराई, अन्जु रञ्जित, माणिक रत्न, दीपेन्द्र तिमिल्सिना, उत्सव केसी, सुपा खनाल, देवेन्द्र पाण्डे, नीरज खुलाल, राज टाइगरलगायतका सहभागिता रहेको थियो । नेपालमै निर्माण भएको पहिलो कथानक चलचित्र ‘आमा’ सन् १९६४ अक्टोबर ७ अर्थात् असोज १५ गते प्रदर्शन भएको थियो ।

यही ऐतिहासिक दिनको स्मरण गर्दै असोज १५ गते नेपालमा राष्ट्रिय चलचित्र दिवसका रूपमा मनाइदै आएको छ । नेपाली चलचित्रको पहिलो पुस्ताका कलाकार तथा नेपालमै निर्माण भएको पहिलो कथानक चलचित्र ‘आमा’का तीन अग्रणी नायिकालाई सम्मान गर्दै राष्ट्रिय चलचित्र दिवस मनाउनु निकै महत्वपुर्ण रहेको संघले जनाएको छ । कार्यक्रममा ‘आमा’ चलचित्रसँग जोडिएका कलाकार तथा सिर्जनाकर्मीको योगदानलाई नयाँ पुस्तासम्म पु¥याउनुपर्नेमा वक्ताहरूले जोड दिएको आयोजक संघका महासचिव सुनील कटुवालले जानकारी दिए । यसैवीच, चलचित्र विकास बोर्डले विपद पछिको देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रिय चलचित्र दिवस मनाएको छ ।

राष्ट्रिय चलचित्र दिवसको अवसरमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित सम्पूर्ण चलचित्रकर्मी, संघ–संस्था तथा सरोकारवालाहरूमा शुभकामना व्यक्त गरेका छन् । मन्त्री डा. तिमिल्सिनाले नेपाली चलचित्रक्षेत्रको विकास, प्रवद्र्धन र व्यवस्थापनका लागि आवश्यक नीतिगत तथा कानूनी सुधारलाई सरकारले प्राथमिकतामा राखेको र यस क्षेत्रको दीर्घकालीन विकास, चलचित्रकर्मीको पेशागत हित तथा अन्य सरोकारका विषयहरूमा आवश्यक व्यवस्था गर्नका लागि सरकार प्रतिवद्ध रहेको उल्लेख गरेका छन् ।

सोही अवसरमा बोर्डका कार्यवाहक अध्यक्ष रविलाल शर्माले सम्पूर्ण चलचित्रकर्मी, चलचित्रसम्बन्धी संघ–संस्था तथा सरोकारवालाहरूमा राष्ट्रिय चलचित्र दिवसको शुभकामना व्यक्त गरेका छन् । कावा अध्यक्ष शर्माले देशको वर्तमान अवस्थालाई ध्यानमा राख्दै दिवसलाई सौम्य रूपमा मनाउन तथा विपदबाट प्रभावित व्यक्ति र परिवारलाई सरकारले शुरु गरेको राहत र पुनस्र्थापन कार्यमा सक्दो सहयोग गर्न बोर्ड सम्बद्ध सबैमा अपील गरेका छन् । उनले बोर्ड नेपाली चलचित्र क्षेत्रको चौतर्फी विकास, चलचित्रकर्मीहरूको हकहित संरक्षण र नेपाली चलचित्रलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउनका लागि नीतिगत सुधार र रचनात्मक कार्यहरूमा निरन्तर प्रतिबद्ध रहेको बताए ।

आजको दिनमा अभाव र चुनौतीका बीच पनि नेपाली चलचित्र क्षेत्रको बलियो जग बसाल्ने अग्रजहरूप्रति कृतज्ञता ज्ञापन गरे । राष्ट्रिय चलचित्र दिवसका अवसरमा बोर्डले विभिन्न माध्यमबाट दिवससम्बन्धी सन्देश प्रवाह गरेको छ । साथै, नेपाली चलचित्रको प्रवद्र्धन तथा राष्ट्रिय चलचित्र दिवसलाई सार्थक रूपमा मनाउने उद्देश्यले देशभरका चलचित्र भवनहरूमा राष्ट्रिय चलचित्र दिवसको ब्यानर राख्न तथा नेपाली चलचित्रको प्रदर्शनमा विशेष सहुलियत प्रदान गर्न अनुरोध गरेको छ ।

उक्त अवसरमा तत्कालीन शाही नेपाल चलचित्र संस्थानबाट निर्मित बोर्डबाट डिजिटाईजेशन गरि सुरक्षित राखिएको पहिलो नेपाली कथानक चलचित्र “आमा“ बोर्डको आफ्नै आधिकारिक युट्यूब च्यानल मार्फत सार्वजनीकरण गरिएको छ । उक्त चलचित्र रुचाइएको छ ।


सर्वाधिक रुचाइएको