बाढी पीडित कर्मचारीका परिवारलाई राहत
बिदुर – बाढी प्रभावित कर्मचारीका परिवारलाई नुवाकोटमा आर्थिक सहयोग वितरण गरिएको छ । विदुरमा आयोजित कार्यक्रममा नगद राहत वितरण गरिएको हो ।त्रिशूली नदीमा आएको अकल्पनीय बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका राष्ट्रसेवक कर्मचारीका परिवारलाई शनिवार विदुरमा कार्यक्रमका बीच नगद हस्तान्तरण गरिएको हो ।

नुवाकोटलाई जन्मथलो बनाई विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीहरूको साझा संस्था ’राष्ट्र सेवक कर्मचारी समाज नुवाकोट’ ले प्रभावित परिवारलाई राहतस्वरुप जनही २५ हजार रुपैयाका दरले नगद सहयोग हस्तान्तरण गरेको कोषाध्यक्ष कृष्णराज खतिवडाले जानकारी दिए । उनका अनुसार गत भदौ १० गतेको बाढीका कारण नुवाकोटका स्थायी तथा अस्थायी गरी २० जना राष्ट्रसेवक कर्मचारीको मृत्यु वा बेपत्ता भएको तथ्याङ्क रहेको छ । पहिलो चरणमा ११ जना प्रभावित कर्मचारीका परिवारलाई समाजको टोलीले राहत रकम हस्तान्तरण गरिएको हो ।

बाँकी ९ परिवारलाई उनीहरूलाई पायक पर्ने स्थानमै पुगेर राहत उपलब्ध गराइने समाजका सदस्य कृष्ण पुडासैनीले जानकारी दिए । उक्त रकम समाजमा आबद्ध ८३ जना कर्मचारीहरूबाट २ लाख ९० हजार सङ्कलन गरिएको थियो । समाजको आफ्नै कोषबाट २ लाख थप गरी कुल रकम जुटाइएको पुडासैनीले वताए । निजामति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना, प्राधिकरण र अस्पतालका हराइरहेका तथा मृत्यु भएका कर्मचारीका परिवारलाई राहत रकम उपलव्ध गराइएको हो ।













































