कलाकारहरुको वडादशैं शुभकामना

– साथी राइडको सन्चालन
लोकखवर मनोरन्जन संवाददाता
२०८३ आश्विन २७, मंगलवार ११:०७

बिदुर – कलाकारहरुले बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन् । यसका साथै ‘साथी राइड’को शुभारम्भसँगै नेपाल चलचित्र कलाकार संघले उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका त्रिदेवी उपमाले प्रसिद्ध वरिष्ठ कलाकार भुवन चन्द, चैत्यदेवी सिंह र बसुन्धरा भुसालले संयुक्त रूपमा शुभकामनासहित ‘साथी राइड’को शुभारम्भ गरेका हुन् । नेपाल चलचित्र कलाकार संघको आयोजनामा बडादशैंको शुभकामना आदानप्रदान तथा ‘साथी राइड’को शुभारम्भ कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा चलचित्र क्षेत्रका विशिष्ट चलचित्रकर्मी, कलाकार, प्राविधिक, लेखक, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको संघका अध्यक्ष उत्तम केसीले जानकारी दिए । कार्यक्रममा महासचिव सुनील कटुवालले कार्यक्रमको महत्वका सम्वन्धमा मन्तव्य दिएका थिए । कार्यक्रममा सहभागीहरूले त्रिशूली नदीको प्रलयकारी बाढी र बुढीगण्डकीमा आएको बाढीले जनजीवन प्रभावित बनाएको र पुर्नस्थापना जरुरी रहेको वताए । उनीहरूले चाडपर्वमा अनावश्यक तडकभडक गर्नुभन्दा नेपाली कला, संस्कृति र परम्पराको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा विशिष्ट चलचित्रकर्मी कृष्ण मल्ल, लय संग्रौला, रविन्द्र खड्का, आकाश अधिकारी, भूईंसाल लामा, मनोज आचार्य र घनश्याम खतिवडाले कला, संस्कृति र चलचित्रले समाजको जनजीवनलाई प्रतिबिम्बित गर्ने बताए । उनीहरुले नेपाली जनशक्ति र प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै स्वदेशी सेवाको प्रवद्र्धन गर्नुपर्ने धारणा राखे । संघका अध्यक्ष केसीले घटस्थापनाको अवसरमा बडादशैंको शुभकामना आदानप्रदान गर्न साथै, नेपाली जनशक्ति, रोजगारी र अर्थतन्त्रलाई आधार बनाएको साथी मोबिलिटी प्रालिको ‘साथी राइड’लाई प्राथमिकताका लागि कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा राइजिङ स्टार बोर्डिङ स्कुल र एनके डान्स ग्रुपले सामूहिक नृत्य तथा सविता कार्की र सम्वृद्धि भण्डारीले वडादशैं विशेष नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा साथी राइड एप डाउनलोड गर्ने राइडर तथा प्रयोगकर्तामध्ये पाँच–पाँच जनालाई गोलाप्रथामार्फत पुरस्कार प्रदान गरिएको थियो । राइडरहरूलाई हेलमेट र प्रयोगकर्ताहरूलाई एयरबड वितरण गरिएको थियो । सांस्कृतिक कार्यक्रममा विशेष प्रस्तुति दिने सहभागीहरूलाई प्रमाणपत्र र विशिष्ट कलाकर्मीहरूलाई उपहारस्वरूप कप प्रदान गरिएको थियो ।

कार्यक्रममा द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, गीतकार संघका अध्यक्ष वसन्त बित्यासी थापा, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी र चलचित्रकर्मीहरूको अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष लव प्याकुरेलको सहभागिता रहेको थियो । कलाकारहरू पुजना प्रधान, तेजुला कतिवडा, पवन केसी . श्रीदेव भट्टराई, रवी गिरी, जीवन थापा, ईन्द्र लामा खम्वे, नवीन श्रेष्ठ, सुलेमान संकर, छुल्छिम गुरुड, पुरन जोशी, लव शर्मा, किरण केसी, एनबी महर्जन, आरपी पन्त, बसन्त खत्री, रामशरण जंगम, सुभाषप्रसाद गजुरेल, उत्सव केसी, माधव खरेल, भोला अधिकारी मिना पुरी, जयन्त रेग्मी, देवेन्द्र पाण्डे, अमर वली, कमलकान्त मैनाली, सपना श्रेष्ठ, पुकार भट्टराई, मानबहादुर थापा, नम्रता खरेल, दिनेश अवाल, सुमन सागर, दीपक अधिकारी, सुपा खनाल र रामेश्वर बुर्लाकोटी, कृष्ण शिवाकोटी, रामशरण कोइराला, झरना रिजाललगायत चर्चित कलाकारहरुको सहभागीता थियो ।

कार्यक्रममा चर्चित गायक तथा गायिकाहरूले पनि आफ्नो विशेष सांगीतिक प्रस्तुति दिएका थिए । गायकहरू आनन्द कार्की, राजन चौलागाई, विनोद ढकाल, सुमित खड्का र कृष्णराज भण्डारी तथा गायिकाहरू सारिका घिमिरे, अनु गौतमले लोकप्रिय गीतहरू प्रस्तुत गरेर कार्यक्रमलाई थप मनोरञ्जनपूर्ण बनाएका थिए । संघका सचिव गोपाल ढकाल ‘छन्दे’ले साथी मोबिलिटी प्रालिको विशेष सहयोगमा कार्यक्रम गरिएको वताए । उनले ‘साथी राइड’को प्रभावकारीता तथा नेपाली प्रविधि र स्वदेशी सेवाको प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको वताए ।


सर्वाधिक रुचाइएको