सांसद बिडारीको यस्तो माग, रक्सी पिउनेको नाम वडा-वडामा राख्नुपर्ने !

लोकखबर
८ श्रावण २०७६, बुधबार २१:१०

मकवानपुर । मकवानपुरबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसद रामनारायण बिडारी बेलाबेलामा चर्चामा आइरहन्छन् । उनी चर्चामा आउँने त्यस्तो कुनै काम गरेर भने होइन, तर्कका कारण उनको चर्चा हुन्छ । थाहा आन्दालनका प्रणेता रुपचन्द्र विष्टका चेला बताउँने उनी बोल्न चतुर छन् । कुन ठाउँमा के बोल्ने भन्ने उनलाई राम्रो हेक्का हुन्छ । कस्तो ठाउँमा कस्तो कस्तो भाषण दिँदा जनमानसलाई आफूतिर तान्न सकिन्छ भन्ने राम्ररी बुझ्ने विडारीमा बोल्ने कला गज्जबकै छ । बुधबार राष्ट्रियसभामा उनले उठाएको एउटा विषयले अहिले राम्रै चर्चा पाईरहेको छ । रक्सीलाई व्यवस्थित गर्नुपर्ने, यसका लागि आवश्यक नीति बनाउँनुपर्नेमा उनले बोले । नेपालमा रक्सी व्यवस्थापन गर्न नसकिएकाले बालक देखि वृद्द रक्सी सेवनमा लागेर समाजमा अपराध बढिरहेको तर्क गर्दै उनले रक्सीलाई व्यवस्थित गर्दै अघि बढ्न सरकारलाई सुझाव दिए ।

सांसद विडारीले हरेक स्थानीय तहका वडा वडामा रक्सी खानेहरु को को हुन् ? कसले कति-कति मात्रामा रक्सी खाने गर्छन् त्यसको लिस्ट हुनुपर्ने बताए । ‘वडामा रक्सी पिउनेहरुको लिस्ट बनाउनुप¥यो,सले कति रक्सी पिउँछ त्यसको पनि रेकर्ड राख्नुपर्‍यो । ’ सांसद बिडारीले भने,‘ रक्सीकै कारण ५० प्रतिशत अपराध भइरहेकाले अपराध घटाउन पनि रक्सी विक्री वितरण र सेवनलाई व्यवस्थित बनाउनु आवश्यक छ । ’
उनले नेपालमा जसले जहाँ पनि रक्सी खाइरहेको बताउँदै रक्सी खाने ठाउँ, खाने व्यक्ति, खाने मात्रा सबै उल्लेख गरी व्यवस्थित गर्ने नीति बनाउँन सरकारलाई सुझाव दिए । जहाँ पनि रक्सी विक्री वितरण भइरहेकाले यसलाई व्यवस्थि गर्नुपर्ने सरकारको दायित्व भएको उनको भनाई छ । अस्पताल छेउ होस् या मन्दिर छेउ जसले जहाँ पनि पनि रक्सी किनबेच गरिरहेको पाइएकाले यसलाई नियन्त्रण गर्नुपर्नेमा सांसद बिडारीको जोड छ ।

उनले अरु देशमा निश्चित उमेरका मानिसले, निश्चित स्थानबाट खरिद गरेर तोकिएको ठाउँमा मात्र बसेर रक्सी सेवन गर्ने गरेकोमा नेपालमा पनि यस्तै खालको नीति आवश्यक रहेको बताए । नेपालबाट विदेश घुम्न गएका विभिन्न नेताले त्यहाँ रक्सी विक्री, वितरण तथा प्रयोग सम्बन्धि नीतिबारे थाहा भएपनि त्यसको सिको यहाँ गर्न बाँकी रहेका उल्लेख गर्दै यसतर्फ ध्यान पुग्नुपर्ने बताए ।

विवाह गर्नका लागि उपयुक्त उमेर चाहिने तर रक्सी पिउने सम्बन्धमा उमेर नतोकिएकाले उमेर पनि स्पष्ट खुलाएर मात्र रक्सी बिक्री वितरण गर्नुपर्ने बताए । रक्सी सेवन पछि मानिस विभिन्न प्रकारका अपराधमा संलग्न भएको पाइएकाले अपराध घटाउनका लागि रक्सीलाई नियन्त्रण गर्नु आवश्यक रहेको उनको जोड छ । समाजमा हुने विभिन्न हत्या, हिंसा, बलात्कार लगायत विभिन्न आपराधिक कार्यमा रक्सी सेवनका कारण मानिस संलग्न भइरहेको भन्दै रक्सी व्यवस्थित गरेर नीति बनाइदैं सरकार अघि बढ्नु आवश्यक रहेको उनले बताए ।

बिडारीको तर्क गज्जबको भन्दै कतिपयले तालि पनि पिटे । तर उनले बोलेका कुरा कति कार्यान्वयन हुनसक्ला भन्नेमा पनि नागरिकको पनि उत्तिक्कै चासो छ । बोल्नु र सरकारले त्यसलाई ग्रहण गर्नुमा फरक छ । बोल्ने कला भएका बिडारीको कुरा केबल सस्तो मनोरञ्जन मात्रै होला कि भन्ने चिन्ता छ । बडो तर्क सहित आफ्नो धारणा राख्ने बिडारीको जायज सल्लाह मनन गर्दा राम्रै होला भन्ने धेरैलाई लागेको हुनुपर्छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*