चेपाङ विद्यार्थीको बाध्यता : दोहोर्‍याएर पढ्नु कि छाड्नु

लोकखबर
२०७६ पुष २, बुधबार १२:०८

शक्ति चेपाङ १० वर्षका भए । उनी चितवनको चेपाङ बहुल पहाडी क्षेत्र राप्ती नगरपालिका–१२ को विकट गाउँ थन्द्राङमा बस्छन् । नजिकैको ग्लाउथोक राष्ट्रिय आधारभूत विद्यालयमा उनी तीन कक्षामा पढ्छन् । दुई वर्षदेखि उनी सोही कक्षामा छन् । तर, उत्तीर्ण नभएर होइन । चार कक्षा पढ्ने चाहना हुँदाहुँदै नजिकै विद्यालय नहुँदा तीनमै बस्नुपर्ने उनको बाध्यता छ ।

१२ वर्षकी सञ्जिता शक्तिकी दिदी हुन् । दुवै एउटै कक्षामा पढ्छन् । सञ्जिताले कक्षा तीनमा पढ्न थालेको तीन वर्ष भयो । ०६० मा खुलेको ग्लाउथोक विद्यालयमा वरपरका थन्द्राङ, गोनबाङ र बाङसिलङका विद्यार्थी पढ्छन् । यहाँ तीनसम्म मात्रै पढाइ हुन्छ । ‘चार पढ्न कि चौघडा जानुपर्‍यो कि यउरालीटार । त्यहाँ पुग्न दुईरअढाई घण्टा हिँड्नुपर्छ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपबहादुर चेपाङले भने, ‘गाडी चल्दैनन्, पैदल हिँडेर त्यति पर जान बालबालिका सक्दैनन् ।’ पढ्न रहर हुने शक्ति र सञ्जिताजस्ता बालबालिका एउटै कक्षामा दोहोर्‍याएर केही वर्ष पढ्छन् । र, रहर पूरा गरी स्कुल जानै छाडिदिन्छन् । उनीहरूकी दिदी एलिनाले पनि सोही विद्यालयमा तीन कक्षा पढेर अध्ययनलाई विराम दिइन् ।

चार कक्षा पढ्नकै लागि सञ्जिता पोखरा पुगिन् । अर्काको घरमा काम गरेर दिउँसो उनी पढ्न जान्थिन् । ‘तर खै त्यहाँ बस्नै मन लागेन र घरै फर्कें,’ उनले भनिन् । घरदेखि यउरालीटारको स्कुल जान खोला र जंगलको बाटो पार गर्नुपर्छ । चौघडा पुग्न झन् गाह्रो छ । अध्यक्ष दीपबहादुर चेपाङले भने, ‘अभिभावकले तीनमै भए पनि यहीँ पढाउनु भने । उनी स्कुल आउँछिन् र पढाइ सकेर फर्किन्छिन् ।’

कक्षा तीनमा पढ्ने १२ जना छन् । शक्ति र सञ्जिताबाहेक दोहर्‍याएर पढ्ने यो वर्ष अरू छैनन् । विद्यालयका प्रधानाध्यापक केशव चेपाङका अनुसार अहिले विद्यालयमा कुल ५५ विद्यार्थी छन् । सबै चेपाङ समुदायकै हुन् । ‘एसएलसी उत्तीर्ण हुने विद्यार्थीको संख्या एउटा हातको औंलाभन्दा पनि कम छन्,’ शिक्षक भरत चेपाङ भन्छन्, ‘यहाँ पढ्न सुरु गरेर अरू स्कुलबाट एसएलसी पास गर्ने जम्मा तीन जना छन् ।’

राप्ती नगरपालिकाको १२ मा ६ र १३ नम्बर वडामा आठवटा आधरभूत विद्यालय छन् । १२ नम्बर वडाको यउरालीटारमा एउटा मावि छ । ‘अन्य आभारभूत विद्यालयबाट हाम्रोमा पढ्न आएका विद्यार्थीमध्ये धेरैले बीचमै छाड्छन् । लगभग ६० प्रतिशतले पढाइ छाड्ने गरेको पाइएको छ,’ यउरालीटार माविका प्रधानाध्यापक रामकृष्ण चेपाङले भने । तीन घन्टा परबाट विद्यार्थी पढ्न यउरालीटार आउँछन् । दिवाखाजा उपलब्ध भए टाढाका विद्यार्थी नियमित आउने सम्भावना उनले देखेका छन् । तर, पाँच कक्षासम्म मात्रै दिवा खाजाको व्यवस्था छ ।

पढाइ छाडेर उमेरै नपुगी विवाह
मकवानपुरको कैलाश गाउँपालिकाकी शिरीमाया चेपाङले दुई वर्षअघि तीन कक्षा पास गरिन् । तर, अहिले पनि उनी तीनमै पढिरहेकी छन् । १३ वर्षकी शिरीमाया चार कक्षा पढ्न नपाएकोमा खिन्न छिन् । उक्त विद्यालयमा १५ जना विद्यार्थी तीन कक्षामा अध्ययनरत छन् । ‘चार जना त्यही कक्षामा दोहोर्‍याएर अध्ययन गरिरहेका छन्,’ विद्यालयकी प्रधानाध्यापक रमिला हिमडुङले भनिन्, ‘दोहोर्‍याएर पढ्नु उनीहरूको बाध्यता हो ।’

ताम्लाङका विद्यार्थी चार कक्षा पढ्न डुम्रेस्थित प्रावि र शक्तिशाली निमावि जानुपर्छ । यी विद्यालय आउजाउ गर्न चार घण्टा लाग्छ । गरिबी र भौगोलिक विकटताका कारण यहाँका बालबालिकाले पीडा भोग्दै आएको स्थानीय सुकलाल चेपाङले बताए ।

राक्सिराङ गाउँपालिकाको खैराङस्थित महाकाली प्रावि, बागेश्वरी निमाविका विद्यार्थीको नियति पनि ताम्लाङस्थित सरस्वती प्राविका विद्यार्थीकै जस्तो छ । ‘स्कुल टाढा भएकाले केहीले एकरदुई वर्ष तीन कक्षामा नै पढ्ने गर्छन्,’ प्रधानाध्यापक महेश्वर जयसवालले भने, ‘त्यसपछि पढ्न छाडेर धेरैजसो उमेरै नपुगी विवाह गरेर अन्यत्र जान्छन् । उक्त गाउँमा एसएलसी उत्तीर्ण गरेका एकजना चेपाङबाहेक कोही पनि छैनन् ।’ निमावि तह उत्तीर्ण गरेकाले मावि तहको अध्ययन गर्न खैराङको कालिका मावि आउनुपर्ने बाध्यता छ । उक्त गाउँबाट कालिका मावि पुग्न साढे ३ घण्टा हिँड्नुपर्छ । कोठा लिएर बस्ने हैसियत उक्त क्षेत्रका बासिन्दाको छैन । खैराङ अठारेका दीपेन्द्र झा भन्छन्, ‘चेपाङ बालबालिकालाई मावि तहको शिक्षा हासिल गराउन माविमा छात्रावासको व्यवस्था गर्नुपर्छ, तब मात्र उनीहरूले पढाइलाई निरन्तरता दिन सक्छन् ।’

चेपाङ समुदायको उत्थानका लागि ०३४ सालदेखि चेपाङ ९प्रजा० विकास कार्यक्रम सरकारले सञ्चालन गरेको थियो । पछिल्लो चरण चेपाङ विकास कार्यक्रम नामकरण गरियो । तत्कालीन जिल्ला विकास समितिले उक्त कार्यक्रम सञ्चालन गर्दै आएको थियो । कार्यक्रमले चेपाङ विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक सामग्री र विद्यालय पोसाकसमेत दिने गरेको थियो । संघीयता लागू भएपछि चेपाङ विकास कार्यक्रम बन्द भयो । सम्बन्धित गाउँपालिकाले चेपाङका बालबालिका लक्षित कार्यक्रम सञ्चालन गरेका छैनन् । लोपोन्मुख चेपाङ समुदाय र उनीहरूका बालबालिकाको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा छुट्टै रकम विनियोजन भएको छैन । शिक्षा कार्यालयले लोपोन्मुख समुदायका विद्यार्थीलाई वार्षिक पाँच सयदेखि आठ सय रुपैयाँसम्म छात्रावृत्ति दिने गरेको छ । पूर्वसांसद गोविन्दराम चेपाङका अनुसार कुल जनसंख्यामा वर्ष दिनसम्म खान पुग्ने चेपाङ पाँच प्रतिशत छन् । चेपाङका कुल जनसंख्यामध्ये २५ प्रतिशत पनि साक्षार छैनन् । आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ । 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको