भीमफेदी ८, इपापन्चकन्यामा विकास निर्माण धमाधम

मकवानपुर । केही वर्ष अघिसम्म विकासको दृष्टिबाट पछाडी परेको मकवानपुरको भीमफेदी गाउँपालिकाको वडा नम्बर ८, इपापन्चकन्या गाउँमा अहिले विकास निर्माण कार्यले तिब्रता पाएको छ ।
गाउँमा सडक, खानेपानी, सिंचाई, बिजुलीबत्ति, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा विकासका कार्य धमाधम भइरहेका हुन् ।
भीमफेदी गाउँपालिकाको ५० लाख रुपैया लागतमा कोगटे-महभीर–धार्के सडक निर्माण गरिएको छ । यो सडक निर्माणपछि स्थानीये राहत पाएका छन् । अब पैदल हिड्नु नपर्ने भएको छ भने गाउँमा उत्पादित अनाज बजारसम्म बिक्रीका लागि लैजान सहजता मिलेको छ । गाउँपालिकाले भौतिक विकास निर्माणको कार्यलाई प्राथमिकता दिएर थालेको योजना अनुसार सडक निर्माण भएपछि सडक अभावमा वर्षौदेखि सास्ती झेल्दै आइरेका स्थानीय दंग बनेका छन् ।
भीमफेदीको इपामा यी र यस्ता दर्जनौं सडक निर्माण भएपछि स्थानीयले गाउँगाउँमा विकास पु¥याउँने जनप्रतिनिधीले आफ्नो मत खेर नफालेको भन्दै खुशी बाँडिरहेका छन् । गाउँपालिकाको बीस लाख रुपैया लागतमा इपा–खानीडाँडा मोटरबाटो निर्माण, भीमफेदी ८ कान्तिलोकपथ देखि मालगाउँस्वारासम्म मोटरबाटो निर्माण, महादेवटार हुँदै नटरम्भेश्वर मन्दिर जाने सडक निर्माण, गँगटे – क्यामुनडाँडासम्म सडक निर्माण गरिएका छन् । प्रदेश सरकारको २७ लाख लागतमा देउराली-कोगटेखोला– सिस्नेरी सडक निर्माण कार्य अहिले धमाधम भइरहेको भीमफेदी गाउँपालिका वडा नम्बर ८ का कार्यबाहक अध्यक्ष नवराज अधिकारीले बताए । कार्यबाहक अध्यक्ष अधिकारीका अनुसार गाउँपालिका, प्रदेश तथा संघको सहयोगमा गाउँमा विकास निर्माणका कार्य धमाधम भइरहँदा स्थानीय विकास देखेर दंग छन् ।
भूकम्प पुननिर्माण प्राधिकरणको २७ करोड लागतमा भीमफेदी-कोगटे- इपा- सिस्नेरी सडक निर्माण कार्य गाउँमा हुँदा छुट्टै खुशीको माहौल छाएको अध्यक्ष अधिकारी बताउँछन् । ‘ गाउँमा विकास भएन भन्नेहरु पनि पाइन्छन्, अहिले धमाधम विकासका कार्यहरु भइरहेका छन् । ’ वडाका लागि आफ्नो पहलमा विकासका कार्य गर्न पाउँदा स्थानीयसंगै आफूलाई पनि खुशी लागेको कार्यबाहक अध्यक्ष अधिकारी बताउँछन् । ‘विकट गाउँमा विकासले फड्को मार्नुमा गाउँपालिकाको कुशल नेतृत्वका कारण पनि सम्भव भइरहेको छ । ’ अधिकारी भन्छन्,‘गाउँमा दुःख पाइयो भनेर सुविधाका लागि शहरतिर सर्ने सोच बनाएकाहरु पनि गाउँमै विकासको गति देखेर पनि अब गाउँमै बसेर केही गर्ने सोच बनाएको सुनाउँन थालेका छन् । मानिसमा यस खालको परिवर्तन गाउँमा विकासकै कारण सम्भव भएको हो । ’

इपामा निर्माण भएको सडक
इपामा अन्य १५-२० लाख रुपैया लागतमा थुप्रै सडक योजनाहरु सम्पन्न भइरहेको अधिकारीको भनाई छ । उनका अनुसार वडामा मन्दिर, विद्यालय मर्मत सम्भारका लागि करिब १२ लाख रुपैया विनियोजन गरेर काम भइरहेको छ ।
गाउँमा खानेपानी समस्या समाधानका लागि पनि महत्वपूर्ण योजनाका कार्यहरु भइरहेको छ । प्रदेश सरकारको ५० लाख रुपैया लगानीमा कोगटेको सानोबाह्रघरेमा लिफ्टिंगमार्फत खानेपानी समस्या टार्नका लागि काम भइरहेको छ । अहिले लिफ्टिंग निर्माणका लागि सर्भे गर्ने काम भइरहेको छ । खानेपानी अभावसंग दैनिकी गुजारी रहेका करिब एक सय ५० धरधुरीका यो खानेपानीबाट लाभान्वित हुनेछन् । गाउँपालिका अध्यक्ष हिदम लामाको पहलमा गाउँमा खानेपानीको समस्याबाट मुक्ति दिलाउँनका लागि अहिले तिब्र रुपमा काम भइरहेको अधिकारी बताउँछन् । विगतमा प्लान नेपाल मकवानपुरको सहयोगमा आकाशको पानी घ्याम्पोमा जम्मा गरेर खानेपानी अभाव टारिएको थियो । तर, अब सधैंका लागि खानेपानी समस्या समाधान गराउँने गरी गाउँपालिकाको नेतृत्वको पहलमा प्रदेश सरकारले योजना अघि बढाउँदा गाउँमा खानेपानी अभाव नहुने अपेक्षामा स्थानीय छन् । आगामी असारसम्म सम्पन्न गर्ने गरी अघि बढाइने यो खानेपानी योजनाका लागि प्रदेश सरकारबाट यस अघि प्राप्त एक करोड रुपैयाबाट ८० लाख रुपैयाको पाइप खरिद तथा २० लाख रुपैया लागतमा मुहान सम्याउने काम गरिएको छ । योजना बमोजिम कार्य सम्पन्न भएपछि करिब १३ सय रोपनीमा सिंचाईको व्यवस्था हुने अपेक्षा गरिएको छ ।
वर्षाको बेलामा ज्यानै जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यतालाई हटाउँनका लागि संघीय सरकारको ७५ लाख लगानीमा इपाखोला र सानुसल्ले जोड्ने झोलुङ्गे पुल निर्माणको तयारी पनि भइरहेको छ ।
अहिलेसम्म बिजुली बत्ति बाल्न नपाएका साविक इपापन्चकन्या गाविसको वडा नम्बर ४ र ५ मा यही पुष महिनाभित्र विजुलीबत्ति बाल्ने व्यवस्था सहित आवश्यक तयारीमा वडा देखि गाउँपालिकासम्म जुटेको छ ।
गाउँमा शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा देखिएका समस्या समाधानका लागि वडाबाट योजना बनाई पालिकामार्फत समाधान गरिदै आइरहेको अध्यक्ष अधिकारी बताउँछन् । आगामी दिनमा यी विभिन्न क्षेत्रका समस्या समाधानका लागि योजना बनाउँदै गाउँको मुहार नै फेर्न अभियानमा संघ, प्रदेश तथा पालिका सरकारमार्फत आफूहरु लागिपरिरहेको उनको भनाई छ ।