रेडियो थाहासंचारको आजबाट सप्ताहव्यापी बार्षिकोत्सव कार्यक्रम सुरु

लोकखबर
१ फाल्गुन २०७६, बिहीबार ०८:२६

मकवानपुर । रेडियो थाहा सञ्चार ९९.६ एफएमले १२ औँ वर्ष पूरा गरी १३ औँ वर्षमा प्रवेश गरेको अवसरमा आज फागुन १ गतेबाट फागुन ७ गतेसम्म साताव्यापी कार्यक्रम आयोजना  गर्ने भएकाे छ। वार्षिकोत्सव कार्यक्रम अन्तर्गत आज पहिलो दिन हेटौँडामा पार्किङ व्यवस्थापन विषयक अन्तरकृया हुने भएको छ। मकवानपुर उद्योग वाणिज्य संघको सभाहलमा हुने अन्तरकृया कार्यक्रममा पछिल्लो समय हेटौँडालाई बागमती प्रदेशको राजधानी तोकिएसँगै साँघुरो सडक र बढ्दो सवारी चापलाई व्यवस्थापन गर्ने बारे छलफल हुने रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमले जानकारी दिए।  त्यस्तै, दोश्रो दिन फागुन २ गते वृहत रक्तदान हुने भएको छ। रेडियोले आफ्नो स्थापना समयदेखि रक्तदान गर्दै आएकोमा त्यसलाई निरन्तरता दिन हेटौँडाको बुद्धचोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए।  फागुन ३ गते नेपाल भ्रमण वर्ष सफल पारौ, सालक संरक्षणमा भूमिका खेलौँ भन्ने नाराका साथ साइकल र्‍यालि, ४ गते पत्रकार तथा हेटौँडा भेट्रान्सबीच मैत्रिपूर्ण फुटबल, ५ गते सवारी दुर्घटना र उपचारको व्यवस्थापन विषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने म्यानेजर गौतमले बताए। त्यस्तै, ६ गते रुपचन्द्र विष्ट र उनको व्यक्तित्वबारे अन्तरकृया गरिने भएको छ। वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रमको अन्तिम तथा ७ गते थाहा वर्ष सम्मान तथा वार्षिकोत्सव समापन कार्यक्रम हुने रेडियोले जनाएको छ। बि.स. २०६४ साल फागुन ७ गते हेटौँडाबाट नियमित प्रशारण शुभारम्भ गरेको रेडियो थाहा सञ्चार ९९.६ एक हजाराबट क्षमताका साथ प्रशारण भईरहेको छ।  रेडियोका स्टेशन म्यानेजर गौतमका अनुसार रेडियोले बारा, पर्सा, रौतहट, चितवन, ललितपुर, धादिङ, रामेछाप, धनुषा, महोत्तरी, दोलखा, ओखलढुङ्गा, सोलुखुम्बुलगायतका जिल्लामा समेत प्रशारण पहुँच पुर्‍याउन सफल भएको छ। रेडियो थाहा सञ्चार नेपालमा मात्र नभई विश्वभर सुन्न सकिने गरी अनलाइनबाट पनि विस्तार गरिएको छ। उनले रेडियोको स्थापनाको छोटो अवधिमा रेडियोलाई राष्ट्रियस्तरमा पहुँच विस्तारका लागि काठमाडौँबाट २०७२ सालबाट रेडियो थाहा सञ्चार ९९.४ सहित थाहा सञ्चार नेटवर्क सञ्चालनमा ल्याइएको बताए। हेटौँडा–९ लाम्सुरे हाइटबाट शुभारम्भ गरिएको रेडियोलाई २०७४ साल असारबाट हेटौँडा–४ अजरअमर रोडमा स्थानान्तरण गरिएको थियो।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*