रेडियो थाहा वार्षिकोत्सव

सवारी दुर्घटनाबारे विद्यार्थीको चिन्ता

लोकखबर
५ फाल्गुन २०७६, सोमबार २०:०४

मकवानपुर। विन्दावासिनी मिडिया प्रा.लिद्धारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ को १२ औँ वार्षिकोत्सवका अवसरमासप्ताहव्यापी कार्यक्रमको पाचौ दिन सोमबार सवारी दुर्घटना र उपचारको व्यवस्थापन विषयक मा.वि स्तरीय वक्तृत्वकला प्रतियोगितामा भएको छ ।

प्रतियोगिताका सहभागी वक्ताहरुले बढ्दो सवारीको चाप तथा साँघुरो सडकसंगै चालकको लापरबाहीले हेटौँडामा दिनानुदिन सवारी दुर्घटनामा वृद्धि भईरहेको बताएका छन् । उनीहरुले लाइसेन्स वितरण गर्ने क्रममा चालकको परीक्षा नदिइ पैसाको भरमा लाइसन्स वितरण गर्नुले पनि दुर्घटना बढेको बताए । शैक्षिक पाठ्यक्रममा ट्राफिक नियमको बारेमा समावेश गराउन सकेको खण्डमा सवारी दुर्घटना न्युनिकरण हुने कार्यक्रमका सहभागीहरुको भनाई छ । दुर्घटना पछि उपचारको राम्रो व्यवस्था नहुनुले झनै समस्या भएको उनीहरुले बताए । प्रतियोगितामा चन्द्रोदय मावि कमानेकी स्नेहा रिमाल प्रथम भएकी छन् ।

१४ वटा विद्यालयका सहभागि विद्यार्थीहरु मध्ये मकवानपुर बाल विद्या सदनकी दामिना गुरागाइ द्धितिय र बुद्ध मावि हात्तीगौडाकी सुस्मिता भोम्जन तृतीय भएकी छन् । प्रथम, द्धितिय र तृतीयले क्रमश नगद ५ हजार, ३ हजार र २ हजारका साथै अजेयराज सुमार्गी पुस्तक, उपहार तथा प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै, अन्य सहभागि ११ जना विद्यार्थीहरुलाई पनि प्रमाणपत्र तथा पुस्तक प्रदान गरिएको थियो ।

रेडियोका सञ्चालक अरुणराज सुमार्गीको अध्यक्षता तथा प्रतियोगिताका मुख्य सहयोगी पुरानो नारायणी यातायात कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कम्पनीका महासचिव सरोज खनाल, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक इश्वरी भण्डारी, अभिभावक संघका जिल्ला अध्यक्ष रमिला सापकोटा, रेडियोका सञ्चालक अंकिता सुमार्गी, विभिन्न विद्यालयका शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै प्रतियोगितामा प्रुडेन्सियल इन्स्योरेन्स मकवानपुरका शाखा प्रमुख अर्जुन सुवेदी, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक इश्वरी भण्डारी र पुरानो नारायणी यातायात कम्पनीका समुन्द्रराज खड्का प्रतियोगिताको निर्णायकको भुमिकामा रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठले सरकारले तदारुकताका साथ सवारी नियमलाई कार्यान्वयन गर्न सकेको खण्डमा दुर्घटना न्युनिकरण हुने बताए ।

उनले सवारी दुर्घटना व्यक्तिको लापरवाहीले गर्दा झनै भयावह अवस्थामा पुगेको बताए । श्रेष्ठले दुर्घटनामा ज्यान गुमाउनेको मुल्य पैसासँग तुलना गर्नाले पनि यसले सिमा पार गरेको बताए । यस्तै संघका महासचिब सरोज खनालले रेडियोले हरेक बर्ष सवारी दुर्घटना सम्बन्धी बिषय उठान गरेर समस्या हटाउन खोजेको प्रयत्नलाई धन्यवाद दिदै आगामी दिनमा पनि निरन्तरर्ता दिन रेडियोलाई सुझाब दिएका थिए ।

सप्ताह व्यापी कार्यक्रम अन्तर्गत भोलि ६ गते रुपचन्द्र विष्ट र उहाँको व्यक्तित्वबारे अन्तरकृया हुने भएको छ । त्यस्तै, वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत अन्तिम दिन ७ गते थाहा वर्ष सम्मान तथा वार्षिकोत्सव समापन कार्यक्रम हुने रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमले जानकारी दिनुभयो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फागुन १ गते ‘हेटौंडामा पार्किङ व्यवस्थापनबारे अन्तरक्रिया’, २ गते रक्तदान, ३ गते ‘नेपाल भ्रमण वर्ष सफल पारौ, सालक संरक्षणमा भूमिका खेलौं’ भन्ने नाराका साथ साइकल र्‍याली, हिजो पत्रकार र भेट्रान्स टिम बिच मैत्रिपूर्ण फुटबल प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*