कोरोना कहर :

कोरोना जोखिमबाट बच्नका लागि मकवानपुरगढी गाउँपालिकाको यस्तो तयारी

विभिन्न समिति निर्माण, नाका शिल गर्नेदेखि साबुनपानीले हात धुने व्यवस्था
लोकखबर
१४ चैत्र २०७६, शुक्रबार १७:१५

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले विश्वव्यापी माहामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड नाइन्टिन) बाट बच्नका लागि आवश्यक तयारी गरेको छ ।

गाउँपालिका अध्यक्ष विदुर हुमागाईको संयोजकत्वमा गाउँपालिका स्तरिय तीस सदस्यीय समन्वय समिति गठन गरेर कोरोना भाइरसको जोखिमबाट सुरक्षित रहनका लागि आवश्यक तयारी गरिएको छ । समितिमा कार्यपालिका सदस्य, रेडक्रस, गाउँपालिकामा रहेका विद्यालयका प्रधानाध्यापक, स्थानीय समाजसेवी लगायत सदस्य छन् ।

यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीको संयोजकत्वमा गाउँपालिकामा रहेको ८ वटै वडाका स्वास्थ्य चौकी इन्चार्ज सदस्य रहने गरी क्वीक रेसपोन्स टिम (द्रुत प्रतिकार्य समूह) गठन गरिएको छ । अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वको समितिले कोरोना भाइरस (कोभिड नाइन्टिन) बाट बच्नका लागि आवश्यक सबै कार्य गरिरहेको छ ।

गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईका अनुसार मानिसको धेरै आवत–जावत हुने क्षेत्रमा शिल गरी मानिसलाई प्रवेश निषेध गरिएको छ । गाउँपालिकाको वडा नम्बर २, शिखरकेटेरी, वडा नम्बर ३, मक्रान्चुली वडा नम्बर ४, बन्दाडाडाका नाका शिल गरिएको हो ।
विदेशबाट आएका नागरिकलाई स्वास्थ्य परिक्षण गरेर मात्र गाउँपालिका प्रवेश गर्न दिइएको छ भने विदेशबाट फर्किएका प्रत्येक नागरिकको घर घर पुगेर स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको छ ।

यस्तै, कोरोना त्रासपछि विदेशबाट फर्किएकाहरुको तथ्यांक संकलनको काम पनि भइरहेको छ ।

वडा अध्यक्षको संयोजकत्वमा वडा सदस्य, रेडक्रस, विद्यालयका प्रधानाध्यापकहरु र स्थानीय समाजसेवी सदस्य रहने गरी गठन गरिएको वडा समन्वय समितिले वडामा भाइरस विरुद्द सचेतनाका कार्य गरिरहेको गाउँपालिकाका अनमी रमिला घलानले जानकारी दिइन् । गाउँपालिकाको विभिन्न नाकाहरु भालुखोला, शिखरकटेरी, सुकौरा, मक्रान्चुली, बाग्दलीमा साबुन पानीले हात धुने व्यवस्थाका लागि तयारी पनि मिलाइएको छ ।

गाउँपालिकाभरमा कोरोना भाइरसको जोखिमबाट बच्नका लागि स्वास्थ्य कर्मचारीलाई खटाउँदै उनीहरुको हौसलाका लागि संघीय सरकारले व्यवस्था गरे बमोजिम विशेष भत्ता समेत उपलब्ध गराउने भएको छ ।

यस्तै, स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्धताका लागि पनि गाउँपालिकाले आवश्यक पहल गरिरहेको जनाइएको छ ।


अध्यक्ष, विदुर हुमागाईं, मकवानपुरगढी गाउँपालिका ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*