प्रदेशसभा सदस्य चेपाङले गरे सहयोग घोषणा

लोकखबर
१४ चैत्र २०७६, शुक्रबार १८:२७

मकवानपुर । कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्नका लागि स्थानीय सरकारले गरिरहेको पहलमा बागमती प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङले सहयोगको घोषणा गरेका छन् ।

शुक्रबार (आज) विज्ञप्ती प्रकाशन गरी उनले चेपाङ जातिको बाक्लो बसोबास क्षेत्र रहेको राक्सिराङ, कैलाश र मनहरी गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्ने घोषणा गरेका हुन् ।

तीनवटै गाउँपालिकाको कोषमा २० हजार रुपियाँको दरले रकम जम्मा गरिदिने प्रतिबद्दता उनले व्यक्त गरेका छन् ।

आफूले पाउँदै आएको पारिश्रमिकमध्ये डेढ महिनाको रकम कोरोना भाइरसको संक्रमण रोक्नका लागि खर्च गर्ने घोषणा गरिएको बागमती प्रदेश सभा सदस्य चेपाङले जानकारी दिए । उनी सातवटै प्रदेशका सांसदहरुमध्ये एक्लो चेपाङ सांसद हुन् ।

‘तीनैवटा गाउँपालिकाकाले स्थापना गरेको बिपद् व्यवस्थापन कोषमा जतिसक्दो चाँडो रकम जम्मा गरिदिनेछु’, सांसद चेपाङले भने । उनले विज्ञप्तीमार्फत रोग र भोकसँग लडिरहेको समुदायलाई सहयोग गर्न अन्य सरोकारवालाहरुलाई पनि आग्रह गरेका छन् ।

यसैबीच, सांसद चेपाङले भारतबाट आउने नेपाली नागरिकहरु सीमाक्षेत्रमा अलपत्र परेकोप्रति चासो ब्यक्त गर्दै अभिलम्ब उनीहरुको उद्धार हुनुपर्ने र क्वारेन्टाइनमा राखिनुपर्ने भन्दै सरकारसँग माग पनि गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*