राहत बोकेर जन्मस्थल पुगे चन्द्र लामा अनुराग

लोकखबर
२४ बैशाख २०७७, बुधबार ०७:२३

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६, का अति विपन्न परिवारलाई मंगलबार राहत वितरण गरिएको छ ।
विश्वव्यापी माहामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९ ) संक्रमण जोखिम नियन्त्रणका लागि सरकारले लक डाउन गरेपछि विहान बेलुकाको छाक टार्न समस्या भोगिरहेका अति विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ मा जन्मिई हाल दक्षिण कोरिया निवासी गीतकार संगीतकार एवं सामाजिक अभियन्ता चन्द्र लामा अनुरागको पहलमा प्राप्त ५० बोरा चामल वडाका अति विपन्न तथा दैनिक ज्यालादारीमा गुजारा चलाइरहेका सय घर परिवारलाई राहत स्वरुप वितरण गरिएको हो ।

अभियन्ता लामाले दक्षिण कोरियामा रहेका मनकारी नेपालीसंग विपद्को घडीमा संकलन गरेको राहत वडा कार्यालयमार्फत हस्तान्तरण गरेका हुन् । सरकारले लिएको एकद्वारा नीति अन्तर्गत आफूहरुले राहत वितरण गरेको लामाले बताए । राहत वितरण कार्यमा धर्मपत्नी गायिका तायाहाङमा राई सहित जन्मस्थल पुगेका लामाले आफूसंग भएर भन्दा पनि दुःखका बेलामा थोरै भएपनि सहयोग पुगोस् भन्ने सोचले खाद्यान्न वितरण गरेको बताए । ‘यो विपदको घडीमा आफ्नो जन्मस्थलमा आएर थोरै भएपनि आफूले सकेको सहयोग गर्न पाउँदा खुशी छु ।’ लामाले भने, ‘आफू जहाँ पुगेपनि आफ्नो जन्मस्थलको माया सदैव लाग्दो रहेछ । यसैले सकेको सहयोग गर्न यहाँ आइपुगे ।’

राहत वितरण कार्यक्रममा हेटौंडा अस्पताल विकास समितीका पूर्व अध्यक्ष युवा नेता सुनिल मोक्तानले सहयोगी मन बनाएर आफ्नो जन्मथलोमा लक डाउनका बेलामा खाद्यान्न अभावमा समस्या झेलिरहेकालाई सकेको सहयोग गरेकोमा मनकारी लामाको प्रसंशा गरे । ‘विदेशमा रहेर पनि आफू जन्मे हुर्केको ठाउँमा आएर यहाँको दुःखमा साथ दिने कार्यमा लागेको प्रति खुशी लागेको छ ।’ मोक्तानले भने,‘कोरियामै बसेर विभिन्न आपत विपद्मा परेकालाई आर्थिक संकलन गरी सामाजिक कार्यमा लागिपरेको अभियन्ता सामाजिक कार्यमा सरिक हुँदै आफ्नै गाउँमा आइपुग्नु खुशीको कुरा हो ।’

अभियन्ता लामाको पहलमा मकवानपुरको विभिन्न बस्तीमा एक सय ८० अति विपन्न परिवारलाई राहत वितरण गरिसकेका छन् ।
वडा अध्यक्ष टिका दाहालले सामाजिक अभियन्ता एवं मनकारी दाताको सहयोगमा आफूहरु वडामा राहत वितरण कार्यमा लागिपरेको बताए । वडामा हालसम्म २ सय ६० परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको जानकारी दिए ।

राहत वितरण कार्यक्रममा डुम्रेकुना टोल विकास अध्यक्ष नरबहादुर स्याङ्तान ,समृद्दि टोल विकास संस्थाका अध्यक्ष बद्रीप्रसाद दहाल,आमभन्ज्याङ टोल विकास संस्थाका अध्यक्ष भीमप्रसाद दहाल, जन एकता टोल विकास संस्थाका अध्यक्ष डिलप्रसाद ढकाल, जनजागृती टोल विकास संस्थाका अध्यक्ष रामबहादुर लो, नवदुर्गा टोल विकास संस्थाका अध्यक्ष नकुलप्रसाद चौलागाईं लगायतको उपस्थिती थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*