विराटनगरका दुई चिकित्सक र चार नर्समा कोरोना संक्रमण

लोकखबर
१२ श्रावण २०७७, सोमबार १३:०७

मकवानपुर ।विराटनगरको विराट नर्सिङ होम (विराटनगर अस्पताल) का संक्रमित चिकित्सकको सम्पर्कमा रहेका चारजना नर्सलाई पनि कोरोना संक्रमण देखिएको छ ।

चिकित्सकलाई कोरोना भएपछि अस्पतालमा कार्यरत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीको स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो । कोसी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा थप चारजनामा संक्रमण पुष्टि भएको हो ।

विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भने, “अस्पताल सञ्चालक तथा चिकित्सक डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई संक्रमण देखिएपछि उहाँको सम्पर्कमा रहेका २२७ जनाको स्वाब संकलन गरेर परीक्षणमा पठाएका थियौं ।” महानगरले अस्पताल सिल गरेको छ । चिकित्सक कार्की भने उपचारका लागि धरानबाट हेलिकप्टर चार्टर्ड गरी शनिबारै टिचिङ अस्पताल काठमाडौं पुगेका छन् ।

महाशाखाका प्रमुख कार्कीका अनुसार ५८ जनाको रिपोर्ट आउँदा चार नर्समा कोरोना पोजेटिभ देखिएको हो । ती नर्सको २६ जना सम्र्पकमा रहेको खुल्न आएकाले उनीहरूको पनि कोरोना परीक्षण गर्ने तयारी थालिएको छ ।

एकजना संक्रमित नर्स विराटनगरको कोसी अस्पतालमा पनि कार्यरत थिइन् । गाइनो विभागकी नर्ससमेत संक्रमित देखिएपछि कोसी अस्पतालमा सो विभागको ‘पोस्टनाटल वार्ड’ सिल गरिएको छ ।

कोसी अस्पतालका मेसु चुमनलाल दासले पोस्टनाटल वार्डलाई सिल गर्ने निर्णय भएको जानकारी दिएका छन् । उनले भने, “कार्यरत नर्स, स्वास्थ्यकर्मी र बिरामीको पनि स्वाब संकलन गर्दै छौं ।” कोसी अस्पताल सरुवा भई सप्तरीबाट आएका अर्का एक चिकित्सकमा पनि कोरोना संक्रमण देखिएको छ । उनलाई कोसी कोभिड अस्पताल भर्ना गरिएको छ ।
बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*