निधिको समर्थन पनि देउवालाई नै
काठमाडौं । अन्ततः कांग्रेस सभापतिका लागि विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई नै समर्थन गर्ने भएका छन् । प्रकाशमान सिंहलाई चाक्सीबारेमा भेटेर मनाएपछि देउवा निधिनिवास बानेश्वर पुगेका थिए ।
भेटमा देउवाले आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । निधिले पनि जवाफमा समर्थन गर्ने वचन दिएका छन् ।
देउवाविरुद्ध पहिल्यै खनिएका नेताहरूले नै एकाएक दोस्रो चरणमा समर्थन गर्न थालेपछि शेखर कोइराला कमजोर बनेका छन् । यस्तै सभापतिमा उम्मेदवार बनेका युवा नेता कल्याण गुरुङले पनि सभापतिमा देउवालाई नै समर्थन गरेका छन् ।
यस्तै आज बिहानै चियापान कार्यक्रमको आयोजना गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफू निकट प्रतिनिधिहरूलाई स्वविवेक प्रयोग गर्न सुझाइसकेका छन् । प्रकाशन र निधिको समर्थनले सभापतिमा देउवा जित्ने सम्भावना बढेर गएको छ ।











































