बागमतीमा ५ मन्त्री र एक राज्यमन्त्री नियुक्त, सपथको तयारी हुँदै
मकवानपुर । बागमती प्रदेशमा मंगलबार (आज) पाँच जना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् ।
प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री तथा राज्यमन्त्री थप गरेका हुन् ।
स्रोतका अनुसार आज सरकारको नेतृत्व गरिरहेको एकीकृत समाजवादीबाट २ मन्त्री, एक राज्यमन्त्री र माओवादी केन्द्रबाट ३ जना मन्त्री थप गरिएको हो ।
श्रम, रोजगार तथा यातायात मन्त्रीमा माओवादी केन्द्रका घनश्याम दाहाल, खानेपानी उर्जा तथा सिंचाई मन्त्रीमा एकीकृत समाजवादीका बसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपंक्षी मन्त्रीमा समाजवादीकै बसुन्धरा हुमागाईं, वन तथा वातावरणमन्त्रीमा माओवादी केन्द्रका विशाल खड्का, युवा तथा खेलकुद मन्त्रीमा माओवादी केन्द्रकै रत्नप्रसाद ढकाल रहेका छन् । यस्तै, कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा एकीकृत समाजवादीका इन्द्रमाया गुरुङ नियुक्त भएकी छिन् ।
यो संगै बागमतीमा मुख्यमन्त्री सहित ११ मन्त्री र एक राज्य मन्त्रीको सरकार बनेको छ । नव नियुक्त मन्त्री तथा राज्यमन्त्रीको आज साँझ पाँच बजे सपथ ग्रहण गराउने तयारी गरिएको छ ।
यसअघि पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिला मन्त्री भएका छन् ।
यस्तै, दोस्रो चरणमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल आर्थिक मामिला र कांग्रेस सांसद निमा लामाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । बागमतीमा मंशिर १५ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार ८ वटा मन्त्रालय फुटाएर चौध वटा मन्त्रालय बनाइएको छ ।











































