माओवादी बागमती उपाध्यक्षमा मकवानपुरका पुलामी विजयी
मकवानपुर । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी उपाध्यक्षमा मकवानपुरका प्रेम बहादुर पुलामी (छिन्तु) चयन भएका छन्।
छिन्तुले १ सय ३८ मत पाएर विजयी भएका हुन्। तीन उपाध्यक्षको पदमा ८ जनाको उम्मेदवारी परेकोमा मकवानपुरका छिन्तु,रुपा मर्हजन र रामप्रसाद ढुंगाना निर्वाचित भएका छन् । त्यस्तै नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री निर्वाचित भएका छन् । उनी अर्का प्रत्यासी दिनानाथ गौतमलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।
जम्मा २ सय ६१ भोट खसेको थियो । जसमा उनले १६२ मत ल्याए । गौतमले ८६ मत ल्याए । अध्यक्षमा सहमति नभएपछि सोमबार निर्वाचन भएको थियो ।
प्रदेश समिति सदस्यले पदाधिकारी चुन्न मतदान गरेका थिए । त्यस्तै सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ निर्वाचित भएका छन् । उनले १४९ मत ल्याए ।
बागमती प्रदेशको मंसिर २५ र २६ गते काठमाडौंमा भएको सम्मेलनमा २७५ जना सदस्य चयन भए पनि पदाधिकारीमा सहमति हुन सकेको थिएन ।











































