दशौं नगर परिषद्को बैठक अगामी १५ गते हुने
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको दशौं नगर परिषद्को बैठक आगामी पुस १५ गते हुने भएको छ । नगरपरिषद् बैठकको तयारी तिब्ररुपमा भइरहेको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।
अगामी पुस १५ गते हुने बैठक अन्तिम नगर परिषद्को बैठकसमेत रहेकाले बैठकमा हालसम्म भएका कामहरुको बारेमा समीक्षा गरिने हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए । बैठकमा खासै एजेण्डाहरु प्रस्तुत नहुने र पालिकाको योजनाहरुका बारेमा हालसम्म पनि कार्यान्वयन हुन नसकेका योजनाहरुलाई के गर्ने भन्ने विषयमा छलफल हुने उनले बताए ।
नगर परिषद् बैठकको तयारीका लागि पुस १३ गते कार्यपालिकाको बोर्ड बैठक पनि बस्ने भएको छ । १३ गते कार्यपालिकाको बैठक बसेर नगरपरिषद्को बैठकमा प्रस्तुत गर्ने विषय तथा एजेण्डाहरुको बारेमा निर्णय गरिने प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले बताए ।











































