माओवादी केन्द्र मकवानपुरबाट को–को पर्छन केन्द्रीय कमिटिमा 

लोकखबर
२०७८ पुष १३, मंगलवार २०:३०

मकवानपुर । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन काठमाण्डौँमा जारी छ । महाधिवेशनमा हाल अध्यक्ष पुष्पकमल दाहालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथी समूहगत छलफल जारी छ ।

तर आम माओवादी कार्यकर्ताको ध्यान भने नयाँ नेतृत्वमा पनि रहेको छ । माओवादी केन्द्रमा अध्यक्षमा ‘प्रचण्ड’को विकल्पबारे चर्चा नभएपनि अन्य पदहरुमा भने तिब्र भिडन्त हुने देखिएको छ ।

नेकपा माओवादी केन्द्रको महाधिवेशनबाट केन्द्रीय कमिटिमा मकवानपुरबाट को–को पर्छन भन्ने चर्चा अहिले मकवानपुरमा सुरु भएको छ । राष्ट्रिय महाधिवेशनमा चयन भएका प्रतिनिधिको विषयमा तिब्र असन्तुष्टिको बिचपनि मकवानपुरबाट केन्द्रमा कस्को प्रतिनिधित्व रहन्छ भन्ने चर्चा भएको हो ।

यो पटक माओवादी केन्द्रको केन्द्रीय कमिटिमा मकवानपुरबाट बागमती प्रदेशकी मन्त्री समेत रहेकी कुमारी मोक्तानको संभावना करिब पक्का रहेको माओवादी केन्द्र श्रोतको दाबी छ । यसबारे खबरब्रेकले मन्त्री मोक्तानसँग प्रतिक्रिया लिँदा केन्द्रमा प्रतिनिधित्व हुनेबारे हालसम्म छलफल नभएको बताईन् । तर उनले मकवानपुरबाट प्रतिनिधित्व केन्द्रमा हुने जानकारी दिइन् । यो पटक मोक्तान बाहेक हाल केन्द्रीय सदस्य रहेका विद्यार्थी नेताबाट केहिसमय अघिमात्र बिदा लिएका विजय गौतमको पनि संभावना बढि रहेको बताईएको छ ।

अनेरास्ववियुबाट मुलधारको राजनीतिमा आएका गौतमलाई नारायणकाजी श्रेष्ठ समुहको ‘कि मेम्बर’ को रुपमा लिने गरिएको छ । गौतमलाई अखिल क्रान्तिकारीको अध्यक्षबाट ‘ब्याक’ गराउन मुलधारमा केन्द्रीय सदस्य दिने गरि सहमति भएको भन्ने पनि माओवादी बृत्तमा चर्चा छ ।

मोक्तान र गौतम बाहेक यो पटक माओवादी केन्द्रमा कम्तिमा २० प्रतिशत युवाहरुको पनि सहभागिता गराइने तायारी भएको कारण बागाती गाउँपालिकाका अध्यक्ष समेत रहेका सर्केश घलान पनि केन्द्रीय सदस्य हुनसक्ने माओवादी श्रोतको दाबी छ । केन्द्रीय सदस्यको लाइनमा रहेका प्रेमबहादुर पुलामी र प्रकाश पाण्डेले प्रदेश पदाधिकारीको जिम्मेवारी लिएको कारण पनि उनिहरु केन्द्रीय सदस्यको रेसबाट बाहिरिएको श्रोतको भनाई छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको