एमाले मकवानपुरमा प्रवेश गरेका पुडासैनीसहित ४ जना माओवादीद्वारा पार्टी सदस्य समेत नरहने गरी कारबाही
मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा-८ कमिटीले धर्मराज पुडासैनीसहित ४ जनालाई कारबाहीको लागि सिफारिस गरेको छ ।
पार्टीको विधान विपरित कार्य गरेको भन्दै पुडासैनी सहित सुजन कार्की, सहदेव ग्याावा र होमनाथ खनाल (रोशन) लाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारबाहीको लागी सिफारिस गरिएको नेकपा माओवादी केन्द्र हेटौंडा ८ नम्बर वडा कमिटीले जनाएको छ ।
माओवादी केन्द्रका जिल्ला सदस्य तथा वडा अध्यक्षका उम्मेद्वार समेत रहेका पुडासैनी केहि दिन अघि मात्रै नेकपा एमाले मकवानपुर प्रवेश गरेका थिए ।
पुडासैनी संगै जिल्ला सदस्य परमानन्द मिश्र, माओवादी केन्द्र हेटौंडा नगरकमिटी सदस्य सादुराम राउत, होमनाथ खनाल, माओवादी केन्द्र हेटौंडा-८ का वडा सचिव सुजन कार्की, वडा कमिटि सदस्यहरु साधुराम ग्यावा, सुर्य खनाल, रिता अधिकारी, वाईसियल जिल्ला सदस्य विराज गौतम, सन्तोष डंगोल लक्षु उप्रेती, अमृत डिडमडुम, प्रदिप मिश्र लगाएतका दुई दर्जन माओवादी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।
एमालेमा प्रवेश गर्दै पुडासैनीले समृद्ध नेपाल निर्माणको अगुवाई एमालेले गर्ने ठानेर आफुहरु एमालेमा समाहित भएको बताएका थिए । एमालेको वर्तमान नेतृत्वले देशलाई समृद्धितर्फ लैजाने विश्वास भएर आफुहरु एमालेमा प्रवेश गरेको र एमालेको विभिन्न कमिटीमा रहेर काम गर्ने र पार्टीलाई सशक्त र बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।











































