प्रदेश नं २ मा थपिए दुई लाख भन्दाबढी मतदाता
निर्वाचन आयोगले पछिल्लोपटक सुरु गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानमा प्रदेश नम्बर २ मा दुई लाख १३ हजार मतदाता थपिएका छन् । तीमध्ये धनुषामा ३८ हजार ३४४ र सिरहामा २९ हजार २७८ मतदाता थपिएका हुन् । निर्वाचनलाई लक्ष्य गरेर गत मङ्सिर १७ देखि पुस १८ गतेसम्म सञ्चालित एक महिने मतदाता नामावली सङ्कलन अभियानअन्तर्गत सो सङ्ख्यामा मतदाता थपिएको जनकपुरधामस्थित प्रदेश नम्बर २ को प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहँदा धनुषामा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेको सङ्ख्या बढ्दै गएको छ । यतिखेर धनुषाको गाउँ–गाउँबाट सर्वसाधारण फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन जनकपुरधामस्थित प्रदेश नम्बर २ को प्रदेश निर्वाचन कार्यालय आउन थालेका छन् । गाउँ–गाउँबाट फोटो खिचाउन आउनेको सङ्ख्या ह्वातै बढेपछि प्रदेश निर्वाचन कार्यालयमा भीड बढ्दै गएको छ ।
‘‘कार्यालय नखुल्दै गेटमा ठूलो सङ्ख्यामा सर्वसाधारणको भीड लागिसकेको हुन्छ”, प्रदेश निर्वाचन कार्यालय जनकपुरका सूचना अधिकारी कृष्ण राउतले भने, ‘‘दैनिकजसो सर्वसाधारणको भीड बढ्दै जाँदा काम गर्न असजिलो भइरहेको छ, तैपनि हामी मतदाता नामावली सङ्कलनको कार्य गर्दै आएका छौं ।”
कार्यालयमा तीन÷चारवटा कम्प्युटरबाट फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्दै आएको सूचना अधिकारी राउतको भनाइ छ । दैनिक ६०० देखि ७०० जनासम्म फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन आउने गरेको प्रदेश निर्वाचन कार्यालय जनकपुरका प्रमुख पुष्पा झाले जानकारी दिए ।
२०७४ सालको निर्वाचनपछि लामो समयसम्म स्थानीय तहमा मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गर्न नसकेको, कोभिड– १९ सङ्क्रमणको त्रास, विदेशबाट युवाहरु फर्किने क्रम बढेको तथा स्थानीय तहको निर्वाचन नजिकिएकोलगायतका कारणले मतदाता नामावलीमा नाम दत्र्ता गराउन आउनेको सङ्ख्या बढेको उनको भनाइ छ ।











































