मनहरी ७ बाट एक युवक पक्राउ, ३ जना फरार
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७, पेन्चेबाट एक युवक पक्राउ परेका छन् भने ३ जना युवकहरु नियन्त्रणका क्रममा फरार भएका छन् । प्रहरीले बिहीबार राति करिब पानै १० बजेको समयमा लागुऔषध अफिमसहित २२ वर्षीय विवेक प्रजालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार लागुऔषध अफिम ओसारपसार भइरहेको छ भन्ने विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले राक्सिराङतर्फबाट आउँदै गरेको बा प्र ०३ ००५ प ३१०३ र बा ००३ प ९६४७ नम्बरको दुईवटा मोटरसाइकललाई रोकी नियन्त्रणमा लिन प्रयास गेको थियो ।
त्यस समयमा कालो झोला छाडी मोटरसाइकलमा सवार ३ जना फरार भएको र प्रजालाई मात्र पक्राउ गर्न सकिएको प्रहरीको दाबी छ । झोलामा प्रहरीले ९ किलो ८ सय २० ग्राम लागुऔषध अफिम बरामद गरेको छ । प्रजालाई जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको र फरार ३ जनाको खोजी कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।











































