क्षयरोगी खोज्दै विदुर नपा
विदुर–क्षयरोगका विरामीहरुको पहिचानका लागि नुवाकोटको विदुर नगरपालिकामा अभियान सन्चालन गरिएको छ । दुई छुट्टाछुट्टै स्थानमा गरिएको दुइदिने क्षयरोग खोजपड्ताल शिविरमा क्षयरोगका विरामीहरु प्हिचान गरिएका छन् ।
विदुर नपामो दुई स्थानमा सञ्चालन गरिएको निःशुल्क क्षयरोग खोजपड्ताल शिविरमा तीनसय ७३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षणका क्रममा ४९ जना क्षप्यरोगका शंकास्पद बिरामी पहिचान गरिएको जनस्वास्थय निरीक्षक रामराजा भण्डारीले जानकारी दिए ।
विदुर नपा ५ देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान र विदुर १० स्थित शहरी स्वास्थ्य केन्द्र गेर्खुटारमा क्षयरोगीको पहिचान शिविर सञ्चालन गरिएको थियो । देवीघाटमा २१ जना तथा गेर्खुटारमा २८ जना शंकास्पद बिरामी फेला परेका हुन् ।
शंकास्पद बिरामीहरूको खकार नमूना थप परीक्षणका लागि त्रिशूली अस्पताल पठाइएको विदुर नपाकी क्षयरोग स्वास्थ्य संयोजक गरिमा जोशीको भनाई छ । उनका अनुसार स्वास्थ्य परीक्षणका क्रममा एआई प्रविधि प्रयोग गरिएको डिजिटल पोर्टेबल एक्स–रे मेशिन मार्फत बिरामीहरूको छातीको परीक्षण गरिएको थियो
परीक्षण कार्यमा राष्ट्रिय क्षयरोग केन्द्र, भक्तपुर, त्रिशूली अस्पतालका चिकित्सकहरू, तथा स्वास्थ्य प्रविधिज्ञहरूको टोली परिचालन गरिएको थियो । विदुर नपाका स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा अन्य स्थानीयवासीले पनि शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए ।
विदुर नपामा रहेका दीर्घरोगी, बयोवृद्ध, तथा क्षयरोगको उच्च जोखिममा रहेका व्यक्तिहरूलाई लक्ष्यित गरी शिविर सञ्चालन गरिएकोमा विरामीहरु लाभान्वित भएको विदुर नपाका मेयर राजन श्रेष्ठको भनाई छ । उनका अनुसार निःशुल्क औषधि नियमित सेवन गरेमा क्षयरोग निको हुने र डराउनु पर्दैन ।
यसका साथै शिविरमा मेयर राजन श्रेष्ठसँगै प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेल, विदुर ५ का वडाध्यक्ष लिलानाथ न्यौपाने तथा विदुर १० का वडाअध्यक्ष गणेशकुमार नेपाललगायतले स्वास्थ्य मानवको पहिलो अधिकार भएको कारण विदुर नपाले प्राथमिकता दिइरहेको वताए ।












































