नौ बजेसम्म मात्र देउसीभैलो खेल्न निर्देशन
बिदुर – मर्यादित, अनुशासित र शान्तिपूर्ण रुपमा दोश्रो ठुलो पर्व तिहार मनाउन नुवाकोटमा निर्देशन गरिएको छ । कानून विपरितका कार्य नगर्न र गरेमा कारवाही गरिने नुवाकोट प्रशासनले जनाएको छ । देउसी–भैलोलगायतका सांस्कृतिक कार्यक्रमहरु राती ९ बजेसम्म मात्र गर्न जिल्ला प्रशासन कार्यालय नुवाकोटले सूचित गरेको छ ।

तिहार पर्व मर्यादित, अनुशासित र शान्तिपूर्ण रूपमा मनाउर्न पनि आग्रह गरिएको छ । नेपालीहरूको मुख्य पर्वहरु शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वलाई मर्यादित, अनुशासित र शान्तिपूर्ण रूपमा मनाउन प्रशासनले शुक्रवार सूचना जारी गरि जिल्लावासीलाई आग्रह गरेको हो । कार्यालयले चाडपर्वका नाममा सार्वजनिक स्थानमा होहल्ला गर्ने, झैझगडा गर्ने, मादक पदार्थ सेवन गरी पारिवारिक तथा सामाजिक जनजीवन र सार्वजनिक शान्ति खलल पु¥याउने गतिविधि नगर्न अनुरोध गरेको छ ।

कानून विपरीतका कार्यहरु जुवातास खेल्ने–खेलाउने, भुइँचम्पा, पटका तथा आतसबाजीजस्ता जोखिमपूर्ण गतिविधि नगर्न र वातावरण प्रदूषण हुने विस्फोटक एवं प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्री तथा वितरण नगर्न प्रशासनले सचेत गराएको छ । प्रशासनका अनुसार कानूनले निषेध गरेका गतिविधि गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिनेछ । कानुनविपरीतका गतिविधि भएको पाइएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ । चाडपर्वलाई आपसी सद्भाव, भाइचारा र सामाजिक एकता कायम गर्दै सभ्य एवं सुरक्षित रूपमा मनाउन सबैमा अपिल गरिएको नुवाकोट प्रशासनले जनाएको छ ।












































