त्रिशूली अस्पतालमा डायलोसिस मेशिन
विदुर–तीन जिल्लाका विरामीहरुको उपचार हुंदै आइरहेको त्रिशूली अस्पताल नुवाकोटमा मिगौलाका विरामीहरुको सुविधाका लागि डायलोसिस मेसिन थपिएका छन् । यसवाट विरामीहरुलाई सुविधा पुगेके छ ।

मिर्गौलामा खराबी भएर नियमित डायलोसिस गर्नुपर्ने बिरामीलाई लक्ष्यित गरी विदुर नगरपालिका ९ कोलोनीस्थित त्रिशूली अस्पतालमा थप दुई थान डायलोसिस मेसिन थपिएका छन् । यसअघि चारवटा उपकरणमार्फत सेवा दिँदै आएको अस्पतालले अव भने थप दुई उपकरणसहित सेवा विस्तार गरेको हो ।
त्रिशूली अस्पतालको मागअनुसार बागमती प्रदेश स्वास्थ्य मन्त्रालयमार्फत स्वास्थ्य आपूर्ति केन्द्र, हेटौँडाले उक्त दुईवटा डायलोसिस मेसिन उपलब्ध गराएको अस्पताल सञ्चालक तथा व्यवस्थापन समिति अध्यक्ष उपेन्द्र बुढाथोकीले जानकारी दिए । उनका अनुसार मिर्गौलाकका विरामीहरुलाई थप सेवा प्राप्त भएको छ ।

त्रिशूली अस्पतालबाट डायलोसिस सेवा सुरु भएपछि नुवाकोट, रसुवा र धादिङको उत्तरपुर्वी आसपासका बिरामीलाई काठमाडौंसम्म धाउनु पर्ने बाध्यता हटेको छ । बिरामीको चाप बढ्दै गएपछि अस्पतालले प्रदेश सरकारसँग थप मेसिनको माग गरेकोमा वागमति प्रदेशमा मुख्यमन्त्री वहादुरसिंह लामाको पहलमा थप दुई थान आधुनिक मेशिन प्राप्त भएको अस्पताल निर्देशक डा. राजेन्द्र लामाको भनाई छ ।
उनका अनुसार त्रिशूली अस्पतालमा हाल थप जनशक्तिलाई तालिम दिई हाल तीन वटा सिफ्टमा सेवा प्रदान भइरहेको छ । यससँगै बिरामीलाई पालो कुर्नुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ ।

निर्देशक डा. लामाका अनुसार हाल भर्खर स्थापना गरिएका उपकरण जापानी प्रविधिमा आधारित छन्, जसले गुणस्तरीय सेवा दिन सहयोग पु¥याउनेछ । उनले थप उपकरणसँगै थप सहकार्य भए बिरामीलाई अझ सुलभ सेवा उपलब्ध हुने बताए ।
मिर्गौला फेल भएका बिरामीको रगतबाट विषालु पदार्थ, अतिरिक्त पानी र इलेक्ट्रोलाइट सन्तुलन मिलाउन डायलोसिस अनिवार्य हुन्छ । त्रिशूली अस्पतालले ग्रामीण क्षेत्र, कमजोर आर्थिक अवस्था भएका बिरामीलाई सेवा दिँदै आएको छ । जसले गर्दा विरामीहरुलाई महत्वपूर्ण राहत मिलेको अस्पतालका अध्यक्ष उपेन्द्र वुढाथोकीको भनाई छ ।

मिर्गौला प्रत्यारोपण नगर्दासम्मका लागि डायलोसिस गर्नुपर्ने बिरामीको रगत सफा गर्न, युरिया, क्रियाटिनिन लगायत विषालु पदार्थ हटाउन डायलासिस अत्यावश्यक रहेको छ । यससंगै त्रिशूली अस्पतालले तीन सिफ्टमा सेवा दिन थालेसँगै नुवाकोट र आसपासका मिर्गौला रोगीहरूलाई निकै सुविधा पुगेको छ ।












































