गाउंमा रंगशाला निर्माण गरिदै
बिदुर–नुवाकोटको दक्षिणी भेगमा रहेको तारकेश्वरको जव्वरेचौरमा आधुनिक खेलकुद रंगशाला निर्माण भइरहेको छ । तारकेश्वर गाउँपालिकाको लगानीमा तारकेश्वर गापा १ दाङसिङ जब्बरेचौरस्थित निर्माणाधिन खेलकुद रंगशालामा दुबो रोप्ने कार्य गरिएको छ ।

खेल–मैदानलाई आधुनिक र व्यवस्थित बनाउन स्तरोन्नतीको कार्य अन्तरगत खेल मैदानमा दुबो बिछ्याउने कार्य गरिएको तारकेश्वर गापाले जनाएको छ । सो रंगशाला निर्माण भएपछि गाउंमै खेलाडिको उत्पादन र खेल गतिविधि तिव्र हुने गापा अध्यक्ष शिव अधिकारी ‘अबिरल’ले वताए ।

उनले उक्त रङ्गशालाको निर्माण कार्यलाई तोकिएको समयावधि भित्रै सम्पन्न गर्न र निर्माण कार्य गुणस्तरीय बनाउन निर्देशन दिए । रंगशालाको मैदानमा दुबो बिछ्याउने कार्य धमाधम भइरहेको छ ।
उक्त निर्माण तथा दुबो बिछ्याउने कार्यको स्थलगत निरीक्षण गर्दै अध्यक्ष अधिकारीले तारकेश्वरको गौरवको आयोजनाका रूपमा निर्माण गरिएको उक्त रंगशालालाई राष्ट्रियस्तरमै ग्रामीण क्षेत्रको नमूना रंगशालाको रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । सोही अनुरूप विभिन्न चरणमा रङ्गशालाको निरन्तर स्तरोन्नति तथा व्यवस्थित गर्दै लैजाने योजना रहेको उनले वताए ।












































