नुवाकोट पूर्ण खोप सुनिश्चित जिल्ला घोषित
चारहजार पांचसय ७७ जना वालवालिकालाई पूर्ण खोप
बिदुर–काठमाडौसंग जोडिएको नुवाकोट पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । पहाडि संरचना रहेको नुवाकोट अब औपचारिक रूपमा “पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्राप्त जिल्ला” घोषित भएको हो ।

विदुरमा आयोजित कार्यक्रममा आयोजित विशेष कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरीले १२ स्थानीय तह रहेको नुवाकोटलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्राप्त जिल्ला घोषणा गरेका हुन् । उनले स्वास्थ्य अधिकार नागरिकको मौलिक अधिकार रहेका कारण यसको सम्वद्र्धन र प्रवद्र्धनका लागि सवै पक्षको हातमालो जरुरी रहेको वताए ।

१६ देखि २३ महिना उमेर समूहका सम्पूर्ण बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै खोप १५ महिनाको उमेरभित्र प्राप्त गरेको प्रमाणित भएपछि नुवाकोटले पूर्ण खोप सुनिश्चितता र दिगोपनाको मापदण्ड पूरा गर्दै उक्त घोषणा गरिएको हो । यसअघि जिल्लाका सबै १२ वटा स्थानीय तहहरू पूर्ण खोप सुनिश्चित घोषणा भइसकेका थिए ।

घोषणा कार्यक्रममा जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीले नुवाकोटका सवै सरोकारवालाको साथ, समर्थन, समर्थन, खोप पहुँचको विस्तार, सेवा सुधार, तथा स्थानीय सरोकारवालाको भूमिकालाई उजागर गर्दै यस सफलतालाई दीगो स्वास्थ्य प्रणाली निर्माणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे । उनले नुवाकोटको १२ स्थानीय तहका सवै ८८ वडाका १६ देखि २३ महिनासम्मका कुल चारहजार पांचसय ७७ जना वालवालिकाले पूर्ण खोप लगाएको सुनिश्चित भएको वताए ।

यसका साथै जन्मेदेखि १५ महिनासम्मका कुल दुई हजार नौसय ७९ जना वालवालिकाहरुले लगाउनु पर्ने सम्पुर्ण खोपको मात्रा पुरा गरेको अधिकारीले वताए । यसका साथै स्थलगत अनुगमनका क्रममा खोप लगाउन छुट भएका वालवालिकाहरुको समेत पहिचान गरि खोपको मात्रा पुरा गरिएको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा कार्यक्रममा नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइले खोप सेवा स्थानीयस्तरमै पहुँचको समावेशिता र दिगोपनालाई निरन्तरता दिन सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेकोमा जोड दिए । उनले यसको प्रभावकारीताको निरन्तरता आवस्यक रहेकोसमेत वताए ।
उक्त कार्यक्रममा नुवाकोटका १२ वटै गाउँपालिका तथा खोप सुनिश्चित घोषणामा योगदान पु¥याउने संघसंस्थाहरूलाई सम्मान गरिएको छ । स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुखहरुले आआफ्नो पालिकाको तर्फवाट सम्मानपत्र ग्रहण गरेका थिए ।

कार्यक्रममा वागमति प्रदेश स्वास्थ्य निर्देशनालयका खोप फोकल पर्सन उत्तम प्याकुरेलले जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक रजिन्द्रविक्रम सिंहठकुरी, जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीलाई नुवाकोट पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा भएको प्रमाणपत्र प्रदान गरे । प्याकुरेलले नुवाकोटमा वालवालिकाको खोप पहुंचमा सवै क्षेत्रले सामूहिक सहयोग पु¥याएकोमा सह्रानिय रहेको वताए ।

उक्त कार्यक्रममा त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामा, रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठ, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, महिला सामुदायिक स्वास्थ्य स्वंसेविका रमा न्यौपाने, विदुर नपाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारी, वेलकोटगढीका सत्येन्द्र शाह, पन्चकन्या गापाका स्वास्थ्य संयोजक हेमनारायण महतो, ककनी गापा स्वास्थ्य शाखाका धमनसिंह राई, लिखु गापाका भिमराज रोक्कालगायतले स्वास्थ्य र खोप सेवाको पहुंच र महत्वका सम्वन्धमा चर्चा गरेका थिए । 














































