विपद स्वंसेवक तथा प्रहरीलाई खोज उद्धार सामग्री प्रदान
बिदुर–वर्खायाममा विपद सुरक्षामा जोड दिदै नुवाकोटको विदुरमा खोज तथा उद्धार सामग्रीहरु प्रदान गरिएको छ । विदुर नगरपालिकाले विपद स्वंसेवक तथा प्रहरीलाई विभिन्न खोज उद्धार सामग्रीहरु प्रदान गरेको हो ।

विदुर नपाका १३ वटै वडामा तालिम प्राप्त २२ जना स्वयंसेवकहरू तथा विदुर नपाभित्र रहेका प्रहरी चौकीहरुको लागि विभिन्न १२ प्रकारका विपद् खोज, उद्वार र सेफ्टी सामग्रीहरु प्रदान गरिएको हो । विदुर नपा कार्यालयमा आयोजित कार्यक्रममा मेयर राजन श्रेष्ठले प्रहरी तथा स्वंसेवकहरुलाई ति सामग्रीहरु हस्तान्तरण गरे ।

उनले विपदमा मानवीय सुरक्षा महत्वपुर्ण रहेका कारण यसको सदुपयोग गरि विपदका समयमा क्रियाशील हुन र विपदको न्युनीकरणका लागि आवस्यक कार्य गर्न निर्देशन दिए । उनले वर्खाको समयमा खोला, नदी तथा भीरपाखाहरुमा सचेत भई सुरक्षित रुपमा रहन आम सर्वसाधारणलाई आग्रह गरे ।

हस्तान्तरण गरिएका विपद प्रतिकार्यका सामग्रीहरुमा लाइफज्याकेट, रेनकोट, गमवुट, डोरी, सुरक्षा हेलमेट, टर्चलाइट, प्राथमिक उपचारका सामानसहित १२ प्रकारका सामग्रीहरु रहेका छन् । प्रहरी तथा स्वंसेवकहरुले विपदका समयमा त्यसको प्रयोग गर्ने गर्दछन् ।

कार्यक्रममा नुवाकोटका सहायक प्रजिअ कृष्णप्रसाद हुमागाई, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विक्रम लामा, सशस्त्र प्रहरी बल १९ नं गुल्म प्रमुख (सप्रनाउ) रामकुमार खिउँजु, विदुर ५ का वडाध्यक्ष लीलानाथ न्यौपाने, विदुर नपा विपद वयवस्थापन शाखाका पदाधिकारी, सर्वसाधारणलगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । विदुर नपाले वाढी, पहिरो तथा विभिन्न विपद प्रतिकार्यका लागि सचेत रहन सरोकारवालालाई सक्रिय वनाएको छ ।












































