सुरक्षाकर्मी लगाएर विदुर खानेपानीको संरचना मर्मत

–पानीको वहाव सन्चालन
देवचन्द्र भट्ट
२०८२ श्रावण १, बिहीबार २०:०७

बिदुर–दुई साता अगाडि वाढीले वगाएको विदुर खानेपानीको मुहान सुरक्षाकर्मी परिचालन गरेर मर्मत गरिएको छ । वाढी र पहिरोले ठुलो उपकरण लैजान नसकेपछि सुरक्षाकर्मीसहितको टोलीले विहीवार नुवाकोटको सदरमुकाममा आपुर्ति गर्दै आएको पिउने पानीको मुहान मर्मत गरेर टयांकीमा पानी पठाइएको छ ।

फलाखु खोलामा आएको बाढीको कारण विदुर नगरपालिका – १० स्थित महभीरमुनी रहेको विदुर खानेपानीको मुहानको संरचनामा क्षति पु¥याएको थियो । वाढी तथा पहिरोले क्षति वनाएको मुहानमा पुगेर ३५ जना नेपाली सेना, १० जना नेपाल प्रहरी, १५ जना सशस्त्र प्रहरी, जनप्रतिनिधि, प्राविधिक, कामदार, खानेपानीका सम्पुर्ण संयन्त्र पुगेर क्रेट जाली हालेर वांध वनाउनुका साथै कुलोसमेत खनिएको विदुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष सन्जिववहादुर श्रेष्ठले वताए ।

उनका अनुसार एक दिनभरीको मर्मत तथा पुर्ननिर्माणपछि अव विदुर खानेपानीको पानी सन्चालनको अवस्थामा रहेको छ । पानीको मुहानको संरचना वगाउंदा उक्त समितिअन्र्तगत रहेको पांचहजार उपभोक्ता पिउने पानीको समस्यामा रहेका थिए ।

नुवाकोटको विदुर, वट्टार, इनारपाटीलगायतका मुख्य बजार क्षेत्रमा पछिल्लो एक दुई सातादेखि खानेपानीको चरम अभाव भएको छ । फलाखु खोलमा आएको बाढीले खानेपानीको नहरमा क्षति पुराएपछि नियमित पानी आपुर्ति नहुँदा बजार क्षेत्रमा पानीको अभाव भएको समितिका सचिव राजेन्द्र पाण्डेले वताए ।

मुहानको संरचना मर्मत तथा पुर्ननिर्माण गरिएको छ, ठुलो वाढी नआए अव पानी चल्छ–सचिव पाण्डेले वताए । उनका अनुसार संरचना मर्मत तथा पुर्ननिर्माणका लागि सुरक्षाकर्मी, समितिका संयन्त्र, उपभोक्तासमेत गरि डेढ सय जना परिचालित भएका थिए ।

खानेपानी समितिले पानीको मुहानमा भएको अवरोध हटाउने प्रयास गरेपनि सम्भव नभएपछि सुरक्षाकर्मीको सहायता लिइएको हो । पानीेको संरचना मर्मत र पुर्ननिर्माणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित खानेपानी समितिका पदाधिकारीहरुको टोलीले काम गरेको हो ।

बर्खा लागेपछि विदुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत सन्चालित खानेपानीको उक्त मुहानमा वाढी पहिरोको चपेटामा परि समस्या हुने गरेको मर्मत तथा पुर्ननिर्माणमा सहभागी समितिका पुर्व उपाध्यक्ष हरिशरण गजुरेलको भनाई छ । उनका अनुसार फलाखु खोला मुहान बर्खासँगै बगाउने गरेकाले विगत लामो समयदेखि नै खानेपानीको समस्या प्रत्येक वर्खाको समयमा हुने गरेको छ ।

खानेपानीको अभाव भएपछि समितिले सदरमुकाम क्षेत्रमा धारामा लोडसेडिङ गर्न थालेको छ । धारामा पानी नआएपछि मानिसहरुको खानेपानी भर्नको लागि सार्वजनिक धाराहरुमा भिड लाग्ने गरेको विदुर २ का वडाध्यक्ष दीपक कायस्थको भनाई छ ।

बट्टार र विदुरका सार्वजनिक धाराहरुमा पानी भर्न हाल लामो लाइन लाग्ने गरेको छ । उक्त समितिले पहिलो पटक त्रिशूली वजार क्षेत्रमासमेत पानीको ग्राहक विस्तार गरेको छ ।
त्रिशूली वजारमा झण्डै १० वटा ग्राहकले विदुर खानेपानीको धारा जडान गरेको समितिका सदस्य दीपक तिम्सिनाको भनाई छ । यस वर्ष पनि असारदेखि विदुर नपाको १, २, ४, ५, ६, ८ र ९ का उपभोक्ताले उपभोग गरिरहेको खानेपानीमा वाढी पहिरोका कारण समस्या भएको छ ।

विदुर नगर क्षेत्रमा पानीको अभाव हुन नदिन बट्टारको बोरिङबाट निकालिएको पानी आलोपालो प्रणालीमा वितरण गरिएको समितिका कार्यालय प्रमुख राजकुमार तिम्सिनाले बताए । उनका अनुसार मुहानमा ग्रेगर आएर थुप्रिएपछि अवरोध हटाएर मर्मत र पुर्ननिर्माण गरिएको छ, अव पानी संचालन गर्न सुविधा हुनेछ ।
खोलाले आफ्नो धार परिवर्तन गरेकोले मुहानबाट खानेपानी सन्चालन हुन नसकेको कारण सुरक्षाकर्मीलगायत सबैको सहभागितामा मर्मत कार्य गरिएको वताए । बाढीले मुख्य नहरमा झण्डै एक महिनादेखि हजारौं उपभोक्ताहरुले पानीको अभाव झेलिरहेका थिए ।

बजार क्षेत्रमा पानीको अभाव कम गर्न वैकल्पिक रूपमा प्रयोग हुँदै आएको बट्टार र बिदुरको डिपबोरिङको खानेपानी अस्थायी रूपमा वितरण गरिएको समितिका उपाध्यक्ष नवराज न्यौपानेले बताए । वर्षात् लागेपछि पहिराको कारण धारामा पानी आउन छाडेपछि उपभोक्ता स्थानीय ढुंगेधारा, खोल्सीको पानी र आकाशे पानी संकलन गरी उपभोग गर्न बाध्य भएका थिए ।

यसअघि, खानेपानीको क्षतिग्रस्त मुहानको विदुर नपा मेयर राजन श्रेष्ठले स्थलगत अवलोकन गरेका थिए । नपाले समितिलाई पानी आपुर्ति प्रणाली प्रभावकारी वनाउन आवश्यक सहयोग र समन्वय गरिरहेको भन्दै आगामी दिनमा पनि सहयोग गरिरहने प्रतिवद्धता जनाए ।

विदुर नपाको बजार क्षेत्रमा पानीको निकै अभाव भएपछि नपाले ट्याङकरबाट निःशुल्क पानी वितरण गरेको छ । नपाले विभिनन वजार पुगेर आफ्नै ट्यांकरवाट पानी वितरण गरेको हो ।
बजार क्षेत्रमा पानीको अभाव भएपछि मेयर श्रेष्ठले ट्याङकरबाट पिउने पानी वितरण गर्न निर्देशन दिएपछि खानेपानी वितरण गरिएको हो । विदुर नपाभित्र उपभोक्ताहरुलाई वितरण गरिएको खानेपानी सेवा वर्षातले गरेको क्षतिले खानेपानी वितरणमा भएको असहज परिस्थितिका सन्दर्भमा मेयर राजन श्रेष्ठमार्फत सरोकारवाला निकायसँग छलफल तथा अबरुद्ध भएको खानेपानी सेवा सुचारू गराउन आबस्यक निर्देशन दिएका छन् ।

विदुर नपामा सबैभन्दा धेरै उपभोक्तालाई पिउने पानी उपलब्ध गराउदै आएको विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष सञ्जिववहादुर श्रेष्ठसहित पदाधिकारीलगायतसंग अन्र्तक्रिया गर्दै मेयर श्रेष्ठले अबरुद्ध भएको खानेपानी सहज बनाउन नपा कार्यालयको तर्फबाट आबस्यक सम्पूर्ण सहयोगको प्रतिबद्धता जनाउदै त्यसका लागि सक्रिय रुपमा लाग्न ध्यानाकर्षण गराएका छन् । मुख्य बजार क्षेत्रमा खानेपानीको समस्यालाई मध्यनजर गर्दै नगरपालिका मार्फत पानी वितरण भइरहेकाले त्यसबाट लाभ लिन र कहीँकतै पानीको समस्या भएर ट्याङ्करमार्फत पानी उपलब्ध गराउनलाई नगरपालिका प्रभावित समयमा तयार रहेका पनि मेयर श्रेष्ठले नगरबासीलाई अपिल गरे ।

 

 


सर्वाधिक रुचाइएको