६ सय परिवारलाई विद्युतीय चुल्हो प्रदान
बिदुर– वडावासीलाई अनुदानमा नुवाकोटको विदुरमा विद्युतीय चुल्हो प्दान गरिएको छ । यसवाट लगत र खर्च वचत हुने जनाइएको छ ।
विदुर नगरपालिका ६ ले आफ्नो वडाका ६ सय घरपरिवारलाई विद्युतीय चुल्हो वितरण गरेको छ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको ७० प्रतिशत अनुदान सहयोगमा वडा कार्यालयले पहिलो पटक उक्त चुल्हो वितरण गरेको विदुर ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसेले जानकारी दिए ।
उनका अनुसार दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनको असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि वडा कार्यालयले विद्युतीय उर्जा अवलमवन गर्नका लागि उक्त चुल्हो वितरण गरेको हो । उनले वडा कार्यालय र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहकार्यमा ६ सय घरपरिवारलाई अनुदानमा एक÷एक थान विद्युतीय चुल्हो वितरण गरिएको बताए ।
विद्युतीय चुलो प्रयोग गर्दा विद्युतको महसुल तिर्नु परेपनि ग्यांसको तुलनामा कम र रकमसमेत आफ्नै देशमा रहने चालिसेले वताए । उनले अगाडि भने, “झट्ट हेर्दा बाटो बनाएजस्तो काम त देखिँदैन्, यद्यपि, मानवीय विकासमा भएको यो खर्चले दीर्घकालीन रुपमा प्रभाव देखाउँछ ।”
खाना पकाउने ग्यासभन्दा विद्युतीय चुल्हो सस्तो पर्ने भएकाले ३० प्रतिशत उपभोक्ताको लगानीमा चुलो वितरण गरिएको हो । चुलो लिँदा उपभोक्ताले ७० प्रतिशत अनुदानमा अर्थात् एक हजार १ सय २५ रुपैयाँ मात्र वुझाएर उक्त चुल्हो पाएका हुन् ।
दाउराको विकल्पमा विद्युतीय चुल्होको प्रयोग बढाएर वातावरण संरक्षणको प्रयास गरिएको वडासदस्य रामचन्द्र पौडेलको भनाई छ । वडाभित्र वसोवास गरिरहेकाहरुलाई पहिलो चरणमा छनौट गरेर ६ सय घरलाई विद्युतीय चुल्हो वितरण गरिएको र छुट भएकाहरुलाई पुनः समावेश गरिने जनाइएको छ ।











































