सात विद्यालयले ल्याए शतप्रतिशत नतिजा
बिदुर–नुवाकोटका विभिन्न सात विद्यालयले यस वर्षको एसइई परिक्षामा शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् । सामुदायिक र संस्थागत दुवैका पुर्ण नतिजा सार्वजनिक भएसंगै उक्त विवरण सार्वजनिक भएको हो । 
सामुदायिक विद्यालयतर्फ तीन र संस्थागततर्फ चार विद्यालयले २०८१ सालको एसइई परिक्षामा शतप्रतिशत नतिजा ल्याएका हुन् । विदुर नगरपालिकाका तीन, सुर्यगढी, लिखु, दुप्चेश्वर र ककनी गाउँपालिकाका एक/एकसहित कुल सात विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएको शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले जनाएको छ । शतप्रतिशत नतिजा ल्याउनेमा सामुदायिक विद्यालयतर्फ विदुर नपाको तीनधारे पीपलडांडा मावि, दुप्चेश्वर गापाको सरस्वती मावि र ककनी गापाको मुकुन्देश्वरी मावि रहेका छन् ।

तीनधारेले २०, सरस्वतीले ६ र मुकुन्देश्वरीले ४० जना विद्यार्थी उत्तिर्ण गराएका छन् । संस्थागततर्फ विदुर नपाको नेशनल वेथेल, गणेशभ्यु वाटिका, सुर्यगढी गापाको नुवाकोट ग्लोरी इंलिस स्कुल र लिखुको नर्थस्टार इंलिस स्कुलले शतप्रतिशत नतिजा ल्याएका हुन् । उनीहरुले परिक्षा दिएका सवै अर्थात् क्रमशः १०, १३, १३ र २६ जना उत्तिर्ण गराएका हुन् ।
अघिल्लो वर्ष अर्थात् २०८० को एसइई परिक्षामा भने नुवाकोटमा ६ वटा विद्यालयले शतप्रतिशत नतिजा ल्याएका थिए । गत चैत्रमा सम्पन्न भएको २०८१ सालको एसइई परीक्षामा नुवाकोटवाट एकसय ५० विद्यालयले आफ्ना विद्यार्थीलाई सहभागिता गराएका थिए ।

यस वर्ष सवैतर्फ गरि तीन हजार ६ सय ७० जना परीक्षाथी सहभागी भएकोमा ५८ दशमलव ८२ प्रतिशत उत्तिर्ण भएको शिक्षा समन्वय इकाई नुवाकोटका प्रमुख रामचन्द्र इटनीले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष भने ४३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए ।
यस वर्षको परीक्षाको नतिजा सुधार भएको प्रमुख इटनीको भनाई छ । यस वर्ष नियमिततर्फ र प्राविधिकतर्फ गरि एकहजार पांच सय ११ जना विद्यार्थीको नतिजाले पुर्णता नपाएको कार्यालयकी प्राविधिक सहायक सम्झना थपलियाले जानकारी दिइन् ।

उनका अनुसार नतिजाले पुर्णता नपाएकाहरुले पुनः यहि साउन २९ गतेदेखि सन्चालन हुने ग्रेड वृद्धि परिक्षा दिन पाउनेछन् । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) का लागि १२ स्थानीय तह रहेको नुवाकोटमा २१ परीक्षा केन्द्रमार्फत परिक्षा दिएका थिए ।












































