बालिका शिक्षामा जीवनोपयोगी कार्यक्रम
बिदुर–बालिका शिक्षामा नुवाकोटमा जीवनोपयोगी कार्यक्रम सन्चालन गरिएको छ । जसअन्र्तगत विद्यार्थीहरूको जीवनशैली र सोचाइमा सकारात्मक रूपान्तरण भएको छ ।

नुवाकोटका विभिन्न माविमा अध्ययनरत किशोरीहरूका लागि सात वर्षदेखि सञ्चालित ‘बालिका शिक्षा कार्यक्रम’ले विद्यार्थीहरूको जीवनशैली र सोचाइमा सकारात्मक रूपान्तरण ल्याएको हो । उक्त कार्यक्रमले शिक्षा मात्र होइन, व्यवहारिक सीप, आत्मविश्वास र जीवनोपयोगी ज्ञानसमेत प्राप्त भएको विद्यार्थीहरुले बताएका छन् ।

यस कार्यक्रमअन्तर्गत नुवाकोटका नौ वटा विद्यालयका एकसय ४२ जना छात्राहरूले जीवनोपयोगी सीप कक्षा पूरा गरि सम्मानित भएका छन् । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले विद्यार्थीहरूमा देखिएको आत्मविश्वास र व्यवहारिक ज्ञानको प्रशंसा गरे ।

उनले अगाडि भने, ‘शिक्षाले मात्र होइन, व्यवहारिक जीवन सीपले पनि व्यक्ति र समाज बदल्न सक्छ भन्ने प्रमाण यी किशोरीहरूले देखाइदिएका छन् ।’ कार्यक्रममा रुडेक नेपालका अध्यक्ष मिनकुमार केसीले बालिकाहरूलाई व्यवहारिक सीपसहित क्षमता विकासमा समेत सक्षम बनाउने उद्देश्य अनुसार अघि बढिरहेको बताए ।

बालिकाहरू अब केवल अध्ययनमा सीमित नभई समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने क्षमतामा समेत पुगेको उनले बताए । पञ्चकन्या गापाकी उपाध्यक्ष विमला पाठककेसीले बालिका शिक्षाका यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा लैङ्कि समानता र महिला सशक्तीकरणलाई टेवा पु¥याएको बताइन् ।

कार्यक्रममा विद्यार्थी आशिका श्रेष्ठ, विनु धिताल र सोनिका पाण्डेले पनि तालिमले आपूmहरूको सोचाइ, आत्मविश्वास र व्यवहारमा आएको परिवर्तनबारे अनुभव वताए । कक्षा ६ देखि १२ सम्मका छात्राहरूलाई समेटेर सञ्चालन गरिएको यस कार्यक्रममा छात्रवृत्ति, पोसाक, यातायात खर्च, जीवनोपयोगी कक्षा, अभिभावक सहभागिता गोष्ठी, महिलाले नेतृत्व गरेका क्षेत्रहरूको अवलोकन भ्रमण, आत्मरक्षा तालिम जस्ता विविध गतिविधि समावेश गरिएको थियो ।

रुम टु रिड नेपाल र स्थानीय साझेदार संस्था रुडेक नेपालको सहकार्यमा सञ्चालन भइरहेको कार्यक्रमका अवसरमा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र, मायाको चिनो र सन्दर्भ पुस्तक प्रदान गरिएको थियो । विदुर नगरपालिकाका २१ र पञ्चकन्याका १० वटा माविमा उक्त कार्यक्रम विस्तार गरिएको आयोजकले जनाएको छ ।












































