विदुरको मन्दिरमा घण्टी
बिदुर-नुवाकोटको विदुरमा रहेको धनेश्वर मन्दिरमा घण्टी राखिएको छ । विदुर नगरपालिका २ विदुरवजारमा रहेको उक्त मन्दिरमा २८ किलोग्राम बराबरको घण्टी स्थापना गरिएको छ ।
धनेश्वर मन्दिरका लागि करिब ७० हजार बराबरको २८ किलोग्रामको घण्टी चढाइएको छ । मन्दिरका तर्फबाट शनिवार घण्टी चढाउने डेभिड ग्रुप अफ इन्भेष्टमेन्ट कम्पनीका सदस्यलाई मन्दिर संरक्षण समितिका अध्यक्ष रघुनाथ सुवेदी, वडा सदस्य गीता तिमिल्सिनाले सम्मान समेत गरेका छन् ।

अध्यक्ष सुवेदीले विदुरमा विगत तीन वर्षअघि उक्त मन्दिर स्थापना गरि पुजारीको व्यवस्थासहित नियमित पुजाआजा हुँदै आएको वताए ।
घण्टी राख्ने साइतमा स्थानीय भक्तजनहरुको पनि सहभागिता रहेको थियो । घण्टी दान गरेका डेभिड गुरुडले सामाजिक भावनाले आफ्ना पूर्वजहरुको स्मृतिमा घण्टी चढाइएको वताए ।
धार्मिक मान्यता अनुसार मन्दिर प्रवेशद्वार, बाहिर, भित्र वा वरिपरि घण्टी चढाउँदा र बझाउँदा ‘पाप भाग्ने’ र शक्ति प्राप्त हुने जनाइएको छ । आम नागरिक प्रायः मन्दिर प्रवेशपछि हरेक मानिस घण्टी नबझाई फर्कदैनन् भने यसले गर्दा मन्दिरमा घण्टीको महत्व धेरै हुने गरेको अध्यक्ष सुवेदीको भनाई छ ।












































