बाराही मन्दिरको पुर्ननिर्माण तथा जीर्णोद्वार
बिदुर–सदियौं पुरानो पहिचान वोकेको वट्टारवजारस्थित बाराही मन्दिर पुर्ननिर्माण तथा जीर्णोद्वार गरिएको छ । ६ रोपनी क्षेत्रफलमा मन्दिर विस्तार भएको छ भने यसको संरचना निर्माणका लागि कुल एक करोड रुपैया खर्च भएको छ ।

विदुर नगरपालिका–२ वट्टारवजारस्थित उक्त मन्दिरकै नामवाट वाराहीमार्गसमेत नामाकरण गरिएको छ । दुई सय ५० वर्ष पुरानो उक्त मन्दिर ऐतिहासिक तथा प्रसिद्ध धार्मिक तिर्थस्थल वन्दै गइरहेको स्थानीयवासी तथा विदुर नपाका मेयर राजन श्रेष्ठको भनाई छ ।

प्रसिद्ध बाराहीदेवी मन्दिरको जीर्णोद्धार तथा पुर्ननिर्माण भएसगैँ आन्तरिक तथा वाह्य तिर्थयात्रीको लागी आकर्षणको केन्द्र बनिरहेको कारण यसको संरचना थप गर्नका लागि आवस्यक वजेट विनियोजन गरिने मेयर राजन श्रेष्ठको प्रतिवद्धता रहेको छ । मन्दिर निर्माणको लागी स्थानीयवासी, धर्मावलम्वी, मन्दिर निर्माण तथा व्यवस्थापन समिति, चन्दादातावाट २४ लाख रुपैया संकलन गरिएको थियो ।

यसका साथै उक्त मन्दिरको जीर्णोद्वार र पुर्ननिर्माणका लागि विदुर नपा कार्यालय तथा २ नं. वडा कार्यालयवाट गरि कुल ३१ लाख, वागमति प्रदेश सरकारमार्फत ४६ लाख रुपैयासहित एक करोड रुपैया खर्च भएको वडाध्यक्ष दीपक कायस्थले जानकारी दिए । उनका अनुसार विदुर नपाले पछिल्लो दुई आर्थिक वर्षमा लगातार नौ लाख बजेट उपलब्ध गराएको थियो भने चालु आर्थिक वर्षमा पनि थप तीन लाख रुपैया बजेट बिनियोजन गरेको छ ।

बाराही देवी मन्दिर विष्णुको शक्ति अवतार भएको र वाराहीलाई जल र पृथ्वी दुबैको अधिष्ठात्री देवीका रूपमा पूजा गरिदै आएको मन्दिर व्यवस्थापन तथा संरक्षण समितिका अध्यक्ष शैलेन्द्र श्रेष्ठको भनाई छ । उनका अनुसार पुराणहरूमा उल्लेख भए अनुसार, बाराही देवीले धर्म र सत्यको रक्षा गर्न असुर–दैत्यहरूको विनास गर्न विभिन्न अवतारहरू धारणा गरेको पाइएको छ ।

स्थानीय वृद्धवृद्धाका अनुसार, वाराही मन्दिरको स्थापना करिब अढाई सय वर्ष अगाडि तत्कालीन गोरखा–नुवाकोट क्षेत्रका राजाहरुको पालामा भएको मानिन्छ । बाराही मन्दिर रहेको स्थानलाई ‘शक्तिपीठ’ मान्ने प्रचलन रहेको छ, उक्त मन्दिरमा पूजाआजा गर्दा मनोकामना पूरा हुने जनविश्वास रहेकोे छ ।
बाराहीको पूजा प्रायः वैशाख र कार्तिक महिनामा विशेष रूपमा गरिने स्थानीयवासीको भनाई छ । उक्त अवसरमा पूजाआजा, भजनकिर्तन तथा धार्मिक संस्कारहरूको आयोजना गरिन्छ ।











































