दुई दिनपछि फेला परे हराएका वालिकाहरु
बिदुर–नुवाकोटको उत्तरपुर्वी भेगमा रहेको दुप्चेश्वर गाउंपालिकाका दुई स्कुले वालिका हराएको दुई दिनपछि फेला परेका छन् । उनीहरुको खोजीमा जनशक्ति परिचालन गरिएको थियो ।

दुप्चेश्वर गापा ३ कल्लेरीस्थित घरवाट पढ्नका लागि शुक्रवार विहान दुप्चेश्वर गापा ६ समुन्द्रटारस्थित रुकमिणी मावि समुन्द्रटार हिडेका दुई जना स्कुले वालिकाहरु घरदेखि चार घण्टाको दुरीमा रहेको आफन्तको घरमा शनिवार वेलुकी फेला परेका हुन् । घरवाट विद्यालय जान्छु भनेर निस्किएका उनीहरु विद्यालय नै नआई हराएकोमा दुप्चेश्वर गापाको वालकुमारीस्थित मामाघरमा पुगेको अवस्थामा फेला पारिएको विद्यालयले जनाएको छ ।

उनीहरुको खोजी अभियान सन्चालन गरिएकोमा खोज्दै जांदा वालकुमारीको सल्लेस्थित मामाघरमा फेला पारेर घर परिवारको जिम्मा लगाइएको विद्यालयका प्रधानाध्यापक मुकुन्द थापाले जानकारी दिए । उक्त विद्यालयको कक्षा ४ मा अध्ययनरत ९ वर्षिया अनिशा विक र कक्षा २ मा अध्ययनरत १० वर्षिया रुपा तामाङ शुक्रवार विहानदेखि हराइरहेको कारण उनीहरुको खोजीमा आफन्तजन, जनप्रतिनिधि, प्रहरी तथा सर्वसाधारण क्रियाशील भएकोमा दुई दिनपछि फेला पारिएको स्थानीय युवा सामाजिक अगुवा राजकुमार श्रेष्ठले वताए ।

वालिकाका परिवारजनले उनीहरु घर नआएको विषयमा शनिवार मात्र विद्यालयलाई जानकारी गराएपछि उनीहरु शुक्रवार विद्यालय नै नआएको पाइएको छ । घरदेखि एक घण्टाको पैदल दुरीमा रहेको उनीहरु अध्ययनरत विद्यालयको वीचको स्थान तथा समुन्द्रटार वजार र उनीहरुको घर आसपास खोजी कार्य तिव्र पारिएकोमा ग्रामीण वस्ती वालकुमारीको सल्लेमा फेला पारिएको विद्यालयका अध्यक्ष हरिवहादुर थापाले जानकारी दिए ।











































