घरमै पुगेर अशक्तलाई नागरिकता प्रदान 

– शारिरीक तथा मानसिक विरामीलाई सुविधा
देवचन्द्र भट्ट
२०८२ भाद्र २, सोमबार २३:०८

बिदुर–नुवाकोटको पुर्वी भेगमा रहेको गाउंखर्ककी एक जना फरक क्षमताकी किशोरीलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । यसवाट जन्मदेखि नै अशक्त रहेकी ति किशोरीलाई सहयोग पुगेको छ ।

सदरमुकाम विदुरदेखि ५० किलोमिटर उत्तरपुर्वमा रहेको दुप्चेश्वर गाउंपालिका २ गाउंखर्क, वोलगाउं लोटाmे घर भएकी शारिरीक तथा मानसिक रुपमा अशक्त १८ वर्षिया वसन्ती तामाङलाई सातविसेस्थित इलाका प्रशासन कार्यालय नुवाकोटले सोमवार घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो । प्रशासकिय अधिकृत सावित्रा सावित्रा भण्डारीको नेतृत्वमा गएको टोलीले शारिरीक तथा मानसिक रुपमा अशक्त किशोरी तामाङलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।
उरवन तामाङकी छोरी वसन्तीलाई दुप्चेश्वर गापा २ का वडाध्यक्ष वीरवल तामाङले आवस्यक कागजपत्रसहित इलाका प्रशासन कार्यालय नुवाकोटलाई तीन साता अगाडि नेपाली नागरिकताको लागि सिफारिस गरेका थिए  । सातविसेस्थित इलाका प्रशासन कार्यालय आउन असमर्थ रहेका शारिरीक तथा मानसिक रुपमा अशक्त व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रशासकिय अधिकृत भण्डारीको भनाई छ ।
२०६३ साल कार्तिक १२ गते जन्म भएकी किशोरी वसन्तीलाई प्रदान गरेको नागरिकता नं.२५–०२–८२–००६०२ रहेको छ । नागरिकता पाएपछि खुसी हुदै उनकका परिवारजनले उनलाई अपांगता प्रोत्साहन भत्ता र अन्य सुविधाका लागि सहजता भएको वताएका छन् ।
फरक क्षमताकी किशोरीलाई नागरिकता प्रदान गरेपछि सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइले शारिरीक तथा मानसिक अवस्थाका विरामीलाई सहयोग गर्नु दायित्व र कर्तव्य भएका कारण इलाका प्रशासन कार्यालयमार्फत गाउंमा पुगेर नागरिकता प्रदान गरिएको र अन्यको समेत पहिचान भएपछि घरमै पुगेर नागरिकता प्रदान गरिने वताए ।
चार वर्षको अवधिमा १२ स्थानीय तह रहेको नुवाकोटमा घरमै पुगेर फरक क्षमता भएका १५ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिसकिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
पुर्ण अपाङ्गता भएकी किशोरी वसन्ती तामाङलाई घरमै उपस्थित भएर सातविसेस्थित ईलाका प्रशासन कार्यालयकी प्रमुख सावित्रा भण्डारी, दुप्चेश्वर गापाका अध्यक्ष शंकरबहादुर थापा, उपाध्यक्ष माकुरी तामाङ, वडाध्यक्ष वरिवल तामाङलगायतले नागरिकता हस्तान्तरण गरेका हुन् ।  उक्त स्थान इलाका प्रशासन कार्यालय सातविसेवाट यातायातमा दुई घण्टाको दुरीमा रहेको छ ।
यस्तै, सोही कार्यालयले तादी गापा ३ टुटुङका पुर्ण अशक्त सानुबाबु तामाङलाई  घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । तादी ३ का वडाध्यक्ष सोनाम थिंङतामाङको सिफारिसमा सानुवावुको घरैमा पुगी  नेपाली नागरिकताको  प्रमाणपत्र प्रदान गरिएको प्रशासकिय अधिकृत भण्डारीको भनाई छ ।


सर्वाधिक रुचाइएको