झोलुंगे पुलको मर्मत तीव्रगतीमा

– कनेक्टिभिटीमा जोड
लोकखवर विशेष संवाददाता
२०८३ भाद्र ३१, बुधबार २२:०१

बिदुर – अकल्पनीय रुपमा आएको बाढीले गरेको क्षति गरेको नुवाकोटको विभिन्न झोलुंगे पुलको मर्मत कार्य सुरु भएको छ । सर्वसाधारणको कनेक्टिभिटीमा जोड दिदै प्रलयकारी बाढीले क्षति गरेको पुलहरुको मर्मत सुरु भएको हो । बिदुर नगरपालिका ३ मैरीटार र बेलकोटगढी नपा ८ ठूलोखोला जोड्ने झोलुङ्गे पुल बाढीले क्षति गरेकोमा त्यसको धमाधम मर्मत कार्य भइरहेको बिदुर नपाका केयर राजन श्रेष्ठले वताए ।

मर्मतसंगै आवातजावतमा सहजता आउने उनले जनाए । भदौ १० वुधवार विहान १० वजे आएको विनासकारी बाढीले नुवाकोटका विभिन्न पक्कि तथा झोलुंगे पुलमा क्षती गरेको थियो । बाढीले क्षति गरेको र मर्मत गरेर सुचारु गर्न सकिने पुलहरुको धमाधम मर्मत कार्य भइरहेको छ । सरकारद्वारा बाढीका कारण क्षतिग्रस्त नुवाकोट र धादिङ जोड्ने केउरेनी–गहते तथा फोस्रेटार र नुवाकोटभित्रकै गाउँहरू जोड्ने पिमलटार–जागारामका झोलुङ्गेलगायतथ विभिन्न क्षतिग्रस्त भएका पुलहरूको मर्मत कार्य तीव्र रूपमा अघि बढाइएको छ ।

क्षतिग्रस्त पुलहरूको मर्मतसँगै स्थानीयवासीको आवतजावत सहज हुने अपेक्षा गरिएको छ । यसका साथै बाढीले तहसनहस गरेको त्रिशूली नदीका विभिन्न स्थानमा आवतजावत सहज बनाउन विभिन्न चार स्थानमा तुइन र एक स्थानमा जिपलाइन जडान गरिएको छ । जडानसंगै सन्चालनसमेत गरिएको छ । बाढीका कारण विपदको अवस्थामा पीडामा रहेका आमसर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले वुधवारसम्म नुवाकोटका विभिन्न स्थानमा चार वटा तुइन र एउटा जिपलाइन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बिदुर नपा १ इन्द्रायणीघाटदेखि विदुर नपा १ गुम्बाडाँडा जोड्ने, बिदुर नपा ४ सिमचौर रङ्गबारीदेखि विदुर नपा १२ गौरीबेँसी जोड्ने, बिदुर नपा ५ देवीघाटदेखि विदुर नपा ३ फिर्केप जोड्ने तुइन जडान भई सन्चालनसमेत गरिएको छ । यसका साथै बिदुर नपा १ इन्द्रायणीघाटदेखि विदुर नपा १ त्रिशूली वसपार्कसम्म एक थान जिपलाइनसमेत सन्चालन गरिएको छ । साविक त्रिशूली बसपार्कसम्म पुग्न सहज बनाउने उद्देश्यले जिप लाइन सञ्चालनमा ल्याइएको हो ।

उक्त जीप लाइनबाट छोटो समय (करिब ३० देखि ३५ सेकेन्ड) मा इन्द्रायणीचौरबाट पारी त्रिशूली वसपार्कतर्फ जान सकिने भएको छ । एकपटकमा एकजना जाने गरेर सञ्चालनमा ल्याएको जिपलाइन सुचारु भएको छ । नदी वारपारको लागी पुल निर्माण तथा अन्य वैकल्पिक आवतजावतको व्यवस्था नभएसम्म जिपलाइन सेवा निरन्तर सञ्चालन भइरहने व्यवस्था मिलाइएको छ ।

जिपलाइन सञ्चालनमा प्राविधिक सहयोग विदुर नपाका मेयर राजन श्रेष्ठको आग्रहमा दरवार एड्भेन्चर जिपलाइन नुवाकोटमार्फत सहजीकरण भएको बिदुर नपाले जनाएको छ । घामपानी नभनी विपद्को समयमा निरन्तर खटिएर विपद्को समयमा नागरिकको आवतजावत सहज बनाउन गरिएको उक्त प्रयासले प्रभावित क्षेत्रका स्थानीयवासीलाई महत्वपूर्ण सुविधा पुगेको छ । अन्य स्थानमासमेत आवतजावत सुचारु गर्नका लागि विशेष कार्य सुरु भएको मेयर राजन श्रेष्ठले वताए ।


सर्वाधिक रुचाइएको