कांग्रेस संस्थापन इतरको सम्पर्क कार्यालय

– बट्टारमा देउवा पक्षको कार्यालय स्थापना
लोकखवर राजनीतिक व्युरो
२०८३ आश्विन १, बिहीबार २१:०४

बिदुर – नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै सम्पर्क कार्यालय स्थापना गरेको छ । वट्टारवजारमा विहीवार कार्यालय स्थापना गरिएको हो ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै संस्थापनइतर पक्षले विदुर नगरपालिका–४ बट्टारवजारमा सम्पर्क कार्यालय स्थापना गरेको कांग्रेस जिल्ला सचिव तथा संस्थापनइतर पक्षका नेता श्रीराम श्रेष्ठले जानकारी दिए । कांग्रेसको १५औँ महाधिवेशनका लागि संस्थापन र संस्थापनइतर पक्षले फरक–फरक कार्यतालिका अघि सारेपछि दुवै पक्ष आ–आफ्नो तयारीमा जुटेका छन् ।

संस्थापनइतर पक्षले असोज १५ गते वडा अधिवेशन गर्ने तयारी गरेको छ भने संस्थापन पक्षले असोज ३ गते वडा अधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ । यद्यपि, नुवाकोटमा वडा अधिवेशनको मिति भने अझै निश्चित भइनसकेको कांग्रेसका नेताहरूले बताएका छन् ।  केन्द्रमा दुई पक्षबीच फरक कार्यतालिका देखिएसँगै जिल्लामा पनि दुवै पक्षले आफ्नो तयारी अघि बढाएका हुन् । नुवाकोटमा संस्थापनइतर पक्षको नेतृत्वमा केन्द्रीय तहमा डा. प्रकाशशरण महत रहेका छन् भने जिल्लामा क्षेत्र नं २ मा ध्रुव अधिकारी, श्रीराम श्रेष्ठ, विन्दा अर्याल र १ मा अर्जुन न्यौपाने, धु्रर्व श्रेष्ठलगायतका नेताहरू सक्रिय रुपमा देखिएका छन् ।

संस्थापनइतर पक्षका जिल्ला सचिव श्रेष्ठले नुवाकोटमा जिल्ला तहका नेता तथा कार्यकर्ताले असोज १५ गते हुने वडा अधिवेशनमा सहभागी हुने जानकारी दिए । कार्यालय स्थापनासँगै वडा तहसम्म संगठनात्मक गतिविधि र अधिवेशन तयारीलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको श्रेष्ठले वताए ।


सर्वाधिक रुचाइएको