३७ वर्ष पढाएका प्रधानाध्यापकको विदाई
बिदुर–२०४५ सालदेखि निरन्तर एउटै विद्यालयमा अध्यापन गरि प्रधानाध्यापकको रुपमा १६ वर्ष सेवा गरि नुवाकोटको पुरानो विद्यालयका एक जना शिक्षक ३७ वर्ष अध्यापन गरि विदाई भएका छन् । विदुर नगरपालिका १ त्रिशूलीवजारमा रहेको नुवाकोटकै पुरानो अर्थात् २००७ साल चैत्र २० गते स्थापित त्रिभुवन त्रिशूली मावि एउटै विद्यालयमा निरन्तर ३७ वर्ष विद्यार्थी पढाएर प्रधानाध्यापक महेन्द्र रावत उमेर हदका कारण मंगलवार अनिवार्य अवकाश भएका छन् ।

सर्लाहीको कडेना गापा १ स्थायी घर भएका ६० वर्षिय रावतले गत २०४५ साल भदौ १ गतेदेखि अस्थायी रुपमा त्रिभुवन त्रिशूली माविमा विज्ञान शिक्षकको रूपमा शिक्षण सेवा सुरु गरेका थिए । रावत २०४८ साल जेठ १ गतेदेखि स्थायी भएका हुन् ।

उनी २०६६ साल असारदेखि २०८२ साल भदौ ३ गते मंगलवारसम्म निरन्तर उक्त विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी पुरा गरि ६० वर्षे उमेर हदका कारण अनिवार्य अवकाश भएका हुन् । रावतको विदाइसंगै विदुर २ वट्टार दम्की घर भएका सहायक प्रअ ४६ वर्षिय राजेन्द्र दवाडीलाई निमित्त प्रअको जिम्मेवारी दिइएको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा रावतको विदाई र दवाडीको पदभार एकैपटक गरिएको हो । दवाडीले आफ्ना गुरुसमेत रहेका प्रअ महेन्द्र रावतको अनुसरण गर्दै आफुले विद्यालय र शैक्षिक गतिविधिको प्रवद्र्धनमा सक्रिय भई कार्य गर्ने प्रतिवद्धता जनाए ।

विद्यालयमा आयोजित कार्यक्रममा विदुर १ का वडाध्यक्ष लेनिन रन्जितले नुवाकोटको शैक्षिक विकासमा आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नु भएका प्रअ महेन्द्र रावतलाई मन नै नहुदासमेत उमेर हदका कारण विद्यि र कानुन अनुसार विदाई गर्नु परेको वताए । आफुसमेत अध्ययन गरेको उक्त विद्यालयलाई अहिलेको उचाइमा पु¥याउन रावतले गर्नुभएको कार्य, समर्पण, दूरदर्शिता र अथक परिश्रम केवल संस्थागत सफलताको कथा मात्र नभई शिक्षण पेशाप्रति जीवन अर्पण गर्ने प्रेरणादायी अध्याय भएको वताए ।
प्रअ महेन्द्र रावतको मंगलवारै ६० औं जन्मदिन हो । जन्मदिनको अवसरमा आफूले झण्डै चार दशक विताएको विद्यालयवाटै विदाई हुन पाउंदा आफुलाई निकै भाग्मानी महसुस गरेको वताए ।

रावतले मानिसको दुई वटा आंखा संसारको सुन्दरता देख्ने दृष्टि हो भने शिक्षा जीवनभरको सघर्ष अनि मृत्यु भएपछि पनि रहिरहने दृष्टि भएको वताए ।
प्रअ रावतको विदाई तथा निमित्त प्रअ दवाडीका पदभार कार्यक्रममा विदुर १ का वडा सदस्य रामगोपाल श्रेष्ठ, भगवति राजभण्डारी, शिक्षक, विद्यार्थी, कर्मचारी तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।












































