गाउंका वृद्धवृद्धा काठमाडौंमा खोजी

– सामाजिक सुरक्षा भत्ता नवीकरण
लोकखबर
२०८२ भाद्र ४, बुधबार १९:०९

बिदुर–वृद्धवृद्धा तथा अशक्तहरुको सुविधाका लागि नुवाकोटको तारकेश्वर गाउंपालिकाको एउटा वडाले सामाजिक सुरक्षा वापतको भत्ता लिने व्यक्तिको काठमाडौमा खोजी कार्य गरेको छ । सामाजिक सुरक्षा भत्ता लिने व्यक्तिहरुको सहजताका लागि तारकेश्वर गापा २ तारुकाले सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि पहिलो पटक काठमाडौमा वुधवार शिविर आयोजना गरेको हो ।
उक्त वडावाट काठमाडौमा पुगेर अस्थायी रुपमा बसोबास गरिरहेका वृद्धवृद्धा तथा अशक्त वडाबासीहरुको सहजताका लागि वालाजुमा सुरक्षा भत्ता नवीकरण शिविर सम्पन्न गरेको हो । वडा कार्यालयले पहिलो पटक राजधानी काठमाडौको बालाजु बाइसधारामा वुधवार गरेको शिविरमा २१ जनाको सामाजिक सुरक्षा भत्ता नवीकरण  गरिएको वडाध्यक्ष शिवप्रसाद पनेरुले जानकारी दिए । वृद्धवृद्धा तथा अशक्त लाभग्राहीहरु वडा कार्यलयसम्म जान असहज हुने भएकाले राजधानीमै शिविर गरिएको उनको भनाई छ ।

वडाध्यक्ष पनेरुका अनुसार वडा कार्यालयले  नवीकरणका लागि अनिवार्य रुपमा आवश्यक पर्ने कागजातहरुमा  नागरिकताको सक्कल प्रमाणपत्र, सामाजिक सुरक्षा भत्ता प्रमाणपत्र, एकल महिला वा विधवाको हकमा अविवाहित रहेको वा पुनः विवाह नभएको स्वघोषणा, पतिको मृत्यु दर्ता साथैमा लिएर आउन आग्रह गरेअनुसार सेवाग्राहीले सेवा लिएका हुन् ।
अपाड्गता भएका व्यक्तिको हकमा सक्कल परिचयपत्र र प्रतिलिपिका साथै बसाई सराई सरेर आएकाहरुले भने बसाई सराईको प्रमाणपत्रका आधारमा सामाजिक सुरक्षा वापतको भत्ता विवरण संकलन गरिएको पनि वडाध्यक्ष पनेरुको भनाई छ । वडा कार्यालयको उक्त निर्णयवाट लाभग्राहीहरु खुशी भएका छन् ।
सरकारले ७० वर्ष कटेका जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, विधवा, एकल महिला, अपाड्गता भएका व्यक्ति, दलित बालबालिकाहरुलाई बैंकमार्फत समाजिक सुरक्षा भत्ता उपलव्ध गराउंंदै आएको छ । तारकेश्वर २ मा सामाजिक सुरक्षा वापतको भत्ता लिने तीन सय जना सेवाग्राही रहेका छन् ।
उक्त वडामा स्थायी ठेगाना भएर हाल काठमाडौंमा अस्थायी रुपमा बसोबास गर्दै आएका अशक्त, अपांगता भएका, वृद्धवृद्धाहरुलाई लक्ष्यित गर्दै सामाजिक सुरक्षा भत्ता लाभग्राहीको नयाँ नाम दर्ता तथा नवीकरण गर्ने सुविधा उपलब्ध गराइको हो ।

 


सर्वाधिक रुचाइएको