वृद्धाश्रमलाई आर्थिक सहयोग
बिदुर–नुवाकोटको देवीघाटस्थित वृद्धाश्रमलाई आर्थिक सहयोगका साथै खाद्य सामग्रीसमेत प्रदान गरिएको छ । बिदुर नगरपालिका ७ सोले निवासी सरस्वती भट्टद्वारा दिवंगत आफ्ना पतिको स्मृतिमा आर्थिक सहयोगका साथै खाद्य सामग्रीहरु वृद्धाश्रममै पुगेर हस्तान्तरण गरेकी हुन् ।

विदुर नपा ५ देवीघाटस्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान पुगेर स्व. धर्मदत्त भट्टको स्मृतिमा उनकी धर्मपत्नी सरस्वती र छोराहरु केशव र राजकुमार भट्टले उक्त प्रतिष्ठानमा आश्रित वृद्धबाआमाहरूलाई दैनिक भोजनको लागि नगद ११ हजार एकसय ११ रुपैया हस्तान्तरण गरेका हुन् । यसका साथै चामल ३० किलोग्राम, चिनी १० केजी, आटा १९ प्याकेट प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपाललाई हस्तान्तरण गरेका हुन् ।

यसका साथै भट्ट परिवारले उक्त वृद्धाश्रममा आश्रित वृद्धावृद्धाहरुलाई केरा र नासपाती हात हातमा भोजनका लागि प्रदान गरे । सामाजिक सेवालाई निरन्तरता दिइने स्व. धर्मदत्त भट्टकी धर्मपत्नी सरस्वती भट्टले वताइन् ।















































