कर्मचारी तथा सर्वसाधारणको निःशुल्क स्वास्थ्य परिक्षण
बिदुर–नुवाकोटको विदुरमा कर्मचारी तथा सेवाग्राहीको कार्यालय परिसरमै स्वास्थ्य परिक्षण गरिएको छ । आवस्यक औषधि निःशुल्क प्रदान गरिएको छ ।

निजामति सेवा दिवस २०८२ को अवसरमा दिवुस मुल समारोह समितिले मंगलवार जिल्ला प्रशासन कार्यालय नुवाकोटमा सेवाग्राही तथा कर्मचारीहरुको स्वास्थ्य परिक्षण, उपचार र आवस्यक औषधि निःशुल्क प्रदान गरेको हो ।

त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामासहित १२ जनाको स्वास्थ्य प्राविधिक टोलीले एकैदिन सेवाग्राही र कर्मचारीसहित एकसय ४८ जनाको स्वास्थ्य परिक्षण गरेको हो । स्वास्थ्य परिक्षणमा जनस्वास्थ्य, आयुर्वेद, त्रिशूली अस्पतालसहितका स्वास्थ्यकर्मी परिचालन भएका थिए ।

सेवाग्राही र कर्मचारीसहितलाई स्वास्थय परिक्षणसंगै आवस्यक औषधिसमेत प्रदान गरिएको निजामति सेवा दिवस २०८२ मुल समारोह समितिका सदस्य सचिव तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइले जानकारी दिए । उनका अनुसार विशेष गरि नसर्ने रोगहरुको स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको हो ।

जिल्ला प्रशासनमा प्रशासनिक सेवा लिन आएकाहरु प्रशासनकै मुल ढोकामा स्वास्थय परिक्षण गरि आवस्यक औषधि निःशुल्क पाउंदा सेवाग्राहीहरु निकै खुसी भएका छन् । यसअघि, नुवाकोटस्थित विभिन्न सरकारी कार्यालयका १८ जना कार्यालय प्रमुखहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।

स्वास्थ्य परीक्षणमा मधुमेह, रक्तचाप, तौलअनुसारको उचाई लगायतका स्वास्थ्य परिक्ष्णहरू गरिएका थिए । यसैवीच, कर्मचारी मिलन केन्द्र नुवाकोटले साताव्यापी रुपमा विविध कार्यक्रम गरी निजामती सेवा दिवस मनाइरहेको छ ।

सोही अन्र्तगत कर्मचारी मिलन केन्द्रको आयोजना र त्रिशूली अस्पतालको समन्वयमा कार्यालय प्रमुखहरुको स्वास्थ्य परीक्षण गरिएको छ । उक्त परीक्षणको आधारमा आगामी निजामती दिवसको कार्यक्रममा “स्वास्थ्य कार्यालय प्रमुख पुरस्कार” प्रदान गरिने डा. राजेन्द्र लामाको भनाई छ ।













































