कर्मचारीहरुलाई उत्कृष्ट अवार्ड

– अन्र्तक्रिया, रक्तदान कार्यक्रम
लोकखबर
२०८२ भाद्र २२, आईतवार २१:११

बिदुर-उत्कृष्ट कर्मचारी छनौट गरि नुवाकोटको विदुरमा अवार्ड प्रदान गरिएको छ । निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरु छनौट गरि अवार्ड प्रदान गरिएको हो ।

निजामती सेवा दिवस–२०८२ को अवसरमा भू तथा जलाधार कार्यालयका प्रमुख सञ्जिव सुवेदी र सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंलाई स्वस्थ्य कार्यालय प्रमुख अवार्ड प्रदान गरिएको हो । निजामती सेवा दिवस समिति  नुवाकोटद्वारा  जिल्ला प्रशासन कार्यालयको सभाहलमा आइतवार आयोजित कार्यक्रममा स्वास्थ्य परीक्षणका विभिन्न प्यारामिटरमा सर्वाधिक स्वास्थ्यवान अधिकृतमा सुवेदी र हुमागाईंलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

सुवेदीले ४० वर्ष उमेरमुनि र हुमागाईंलाई ४० वर्ष भन्दामाथिको उमेरतर्फ कर्मचारीको रुपमा उक्त अवार्ड प्रदान गरिएको  कर्मचारी मिलन केन्द्रकी अध्यक्ष रोशना पोखरेलले जानकारी दिईन् । उनका अनुसार यससंगै विविध कार्यक्रम गरि निजामति सेवा दिवस मनाइएको छ ।

कार्यक्रममा जिल्ला न्यायाधिष कोमलप्रसाद आचार्य र प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले संयुक्तरुपमा सुवेदी र हुमागाईंलाई सम्मान पत्रसहित अवार्ड प्रदान गरेका हुन् । न्यायाधिष आचार्यले स्वस्थ्य र सालिन भएर सेवाग्राहीहरुलाई प्रभावकारी सेवा प्दान गर्नु नै कर्मचारीको सफललता भएको वताए ।

सेवाग्राहीहरुको सेवामा खटिने निजामती कर्मचारीहरु सदैव स्वस्थ्य रहुन् भन्ने उद्देश्यले स्वास्थ्य परिक्षण गरि प्रोत्साहनस्वरुप उक्त अवार्ड प्रदान गर्ने कार्य यस वर्षदेखि सुरुवात गरिएको त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामाको भनाई छ । कर्मचारी स्वास्थ्य रहे नागरिकलाई सेवा सुविधा दिन सक्षम हुने र कर्मचारी सदैव स्वस्थ्य रहे सेवाग्राहीलाई सेवा गर्न नै सहज र सरल हुने उनले बताए ।

स्वास्थ्य परीक्षणमा उचाई अनुसारको उमेर, कलेजो, मृगौला, रगतको मात्रा,  पूर्ण शरीरको परिक्षण गरिएको उनले जानकारी दिए । जिल्लास्थित सरकारी कार्यालयका विभिन्न १८ जना कार्यालय प्रमुखहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।

निजामती सेवा दिवस समितिको आयोजना तथा कर्मचारी मिलन केन्द्रको अगुवाइमा विभिन्न कार्यालयको संयोजनमा अन्र्तक्रियालगायत विभिन्न रचनात्मक, खेलकुद, सरसफाईलगायतका कार्यक्रम गरेर सप्ताहव्यापी रुपमा दिवस मनाइएको छ । दिवसको अवसरमा आइतवार विदुरमा गरिएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् ।

कर्मचारी मिलन केन्द्र र त्रिशूली अस्पतालको संयोजन रहेको उक्त कार्यक्रममा विभिन्न क्षेत्र, पेशामा आवद्ध दाताहरुले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, कर्मचारी मिलन केन्द्रकी अध्यक्ष तथा प्रमुख वन अधिकृत रोशना पोखरेलसहित ३३ जना दाताले रक्तदान गरेका हुन् ।

रक्तदानमा निजामती कर्मचारीहरुको बहुल्यता रहेको थियो । त्यसमध्ये महिला कर्मचारीहरुको सहभागिता पनि रहेको आयोजकले जनाएको छ ।


सर्वाधिक रुचाइएको