पुर्ननिर्माणमा कांग्रेसको आर्थिक संकलन अभियान

– एक सदस्य एक सय रुपैया सहयोग
लोकखबर
२०८२ भाद्र ३०, सोमबार १९:५६

बिदुर– जेन्जी पुस्ताको आन्दोलनको क्रममा क्षतिग्रस्त भएको नुवाकोटको विदुरस्थित पार्टी कार्यालयको पुनर्निर्माणका नेपाली काँग्रेस नुवाकोटले आर्थिक संकलन अभियान सन्चालन गर्ने निर्णय गरेको छ । आन्दोलनका क्रममा आगजनी भई क्षतिग्रस्त रहेको विदुरस्थित पार्टी कार्यालयमा सभापति रमेशकुमार महतको अध्यक्षतामा सम्पन्न विशेष बैठकले पार्टी सदस्यहरुसँग प्रति व्यक्ति एकसय रुपैयाँ अनिवार्य र अन्य शुभेच्छुक तथा सहयोगीहरुसंग स्वेच्छिक आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको हो ।

यहि भदौ २४ गते मंगलवार भएको जेन्जी पुस्ताको आन्दोलनले विपी स्मृति भवनमा तोडफोड र आगजनी गर्दा त्यहाँ रहेका महत्वपूर्ण दस्ताबेज सहितको कागजात, फर्निचर सहितका सामाग्रीहरु जलेर नष्ट भएको कांग्रेस नुवाकोटले जनाएको छ । जेन्जी पुस्ताको आन्दोलनका क्रममा विदुरमा कांग्रेस जिल्ला कार्यालय, एमाले जिल्ला कार्यालयका साथै कांग्रेस नेता अर्जुननरसिंह केसीको घरमा आक्रमण गरि तोडफोड र आगजनी गरिएको थियो ।

प्रहरीले क्षतिको मुचुल्का तयार गरिसकेको जनाएको छ । आन्दोलनको मौका बनाई केहि अराजक तत्वहरुबाट भएको घुसपैठमा संलग्नहरुको हुलिया संकलनको काम भइरहेकाले संलग्न भएकाहरुलाई कारबाहीको लागि न्यायिक निकायमा उजुरी दिने निर्णय विशेष बैठकले निर्णय गरेको कांग्रेस नुवाकोटका सचिव श्रीराम श्रेष्ठले जानकारी दिए ।

बैठकमा आन्दोलनका क्रममा भएको हिंसात्मक गतिविधिको गम्भीर भत्सर्ना गर्दै मुलुकको प्रमुख प्रशासनिक स्थल सिंहदरबार सहितको प्रशासनिक निकाय, सर्वोच्च अदालत सहितको न्यायालयहरु, ऐतिहासिक संरचना, संघसंस्था र निजी सम्पत्तिमा आगजनी तथा लुटपाटका घटनाको घोर भर्सना र निन्दा गरिएको छ । बैठकले उक्त घटनामा संलग्न अराजक व्यक्तिहरुलाई तत्कालै पक्राउ गरेर कानुनी कारबाही गर्न पनि माग गरिएको छ ।

सचिव श्रेष्ठका अनुसार पार्टीले जेन्जी पुस्ताको आन्दोलनको क्रममा घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवा सहित सम्पूर्ण घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । घटनामा ज्यान गुमाएका व्यक्ति प्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकलाई शहीद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति दिन पनि नुवाकोट काग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

घाइतेहरुको प्रभावकारी र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन माग गरेको छ । बैठकले जनआन्दोलनबाट प्राप्त गणतन्त्र र संविधानको संस्थागत संरक्षण गर्नु पार्टीको दायित्व रहेकाले आगामी दिनमा केन्द्रीय कार्यसमितिबाट प्राप्त निर्देशन अनुसार अघि बढ्ने निर्णय गरिएको छ ।


सर्वाधिक रुचाइएको