नुवाकोटको दुवै क्षेत्रमा रास्वपाको क्लिनस्वीप
बिदुर – नुवाकोटमा राष्ट्रिय स्वतन्त्र पार्टीले क्लिनस्वीप गरेको छ । माओवादी र कांग्रेसको विरासत भत्काउंदै दुवै क्षेत्रमा रास्वपा विजयी भएको छ । देशमा संविधान तथा संघीयता कार्यान्वयनपछि तेश्रो पटक भएको ऐतिहासिक प्रतिनिधि सभा निर्वाचनअन्र्तगत नुवाकोटको क्षेत्र नं. १ मा आइतवार राती रास्वपाका डा. विक्रम तिमिल्सिना प्रतिस्पर्धी उम्मेदवार भन्दा चारहजार १२ मतको अन्तरले विजयी भएका छन् ।

यसअघि, नुवाकोट २ मा पनि शनिवारै रास्वपाकै डा. अचुतम लामिछाने बिजयी भइसकेका छन् । तीन दिनदेखि लगातार भएको नुवाकोट २ को मतगणनाको अन्तिम नतिजामा रास्वपाका ४३ वर्षिय डा. तिमिल्सिना २२ हजार ६ सय नौ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका डा. प्रकाशशरण महतले १८ हजार पांचसय ९७ मत पाए ।

रास्वपाको अन्र्तराष्ट्रिय समन्वय विभागमा रहेका कुटनितिक जानकार डा तिमल्सिनाले तीन पूर्वमन्त्रीहरुलाई पछाडि पार्दै विजय प्राप्त गरेका हुन् । पुर्वमन्त्रि तथा नेकपाका हितबहादुर तामाङले १३ हजार तीनसय ७७ मत प्राप्त गरेका हुन् । बागमति प्रदेशका पुर्वमन्त्रि तथा नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले आठहजार नौसय ३२ मत प्राप्त गरेका छन् । उज्यालो नेपालका अमित तामाङले दुइहजार ६३ मत पाएका छन् ।

राप्रपाका विमल थापाले सातसय ५६ मत पाएका छन् । उक्त क्षेत्रमा एकलाख २३ हजार नौसय २९ मतदाता रहेकोमा ६२ हजार पांचसय ३३ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तीन वर्ष अगाडिको निर्वाचनमा नुवाकोट १ मा कांग्रेस माओवादी गठवन्धनवाट तत्कालीन माओवादीका हितवहादुर तामाङ विजयी भएका थिए ।

नुवाकोट २ मा पनि कांग्रेस माओवादी गठवन्धनवाट कांग्रेसका अर्जुननरसिह केसी विजयी भएका थिए । नुवाकोट २ मा रास्वपाका डा. अचुतम लामिछाने विजयी भइसकेका छन् । नुवाकोटका कुल दुईलाख ४७ हजार आठसय ६८ जना मतदातामध्ये विहीवार दुइसय ९३ मतदान केन्द्रमा ५५ दशमलव ७३ प्रतिशत मत खसेको थियो ।






















































