दिवंगत चलचित्रकर्मीका परिवारलाई सहयोग
बिदुर– दिवंगत एक जना चलचित्रकर्मीका परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । चलचित्र प्राविधिक शम्भु भट्टराईको असामयिक निधन भएकोप्रति दुःख व्यक्त गर्दै चलचित्र विकास वोर्डले उनका परिवारलाई आर्थिक सहयोग गरेको हो । चलचित्र “कार्की साइँला” को छायांकनका क्रममा धरान–चतरामा प्राविधिक शम्भु भट्टराईको गत साता अकस्मात् निधन भएकाले सम्पूर्ण नेपाली चलचित्र परिवारलाई गहिरो स्तब्ध बनाएको छ ।

पर्दा अगाडि देखिने कलाकारहरू जत्तिकै पर्दा पछाडि निरन्तर श्रम गर्ने प्राविधिक साथीहरूको योगदानले नै नेपाली चलचित्र उद्योग उभिएको र त्यही समर्पित एक कर्मशील साथीलाई गुमाएको जनाउंदै वोर्डका अध्यक्ष दिनेश डिसीले उनको काजकिरियाको मद्धतका लागि चलचित्र विकास बोर्डको तर्फबाट ५० हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

एक जना चलचित्रकर्मी गुमाएको दुःखद् घडीमा स्वर्गीय शम्भु भट्टराईप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदनासमेत प्रकट गर्दै नेपाली चलचित्र क्षेत्रले एक समर्पित प्राविधिक साथी गुमाएको वोर्डले जनाएको छ । चलचित्र प्राविधिक भट्टराइको योगदान र मेहनत सधैँ सम्झनामा रहने जनाउंदै वोर्डको अध्यक्ष दिनेश डिसीले सानो आर्थिक सहयोगले पनि नेपाली चलचित्र परिवार सधैँ एकआपसमा साथ रहने सन्देश भएको वताए ।












































