स्वच्छ पानी उपलव्ध गराउने प्रतिवद्धता
बिदुर – नुवाकोटको सदरमुकामस्थित बिदुरवासीलाई स्वच्छ पानी उपलब्ध गराउन बिदुर नगरपालिका प्रतिबद्ध रहेको एक कार्यक्रममा प्रतिवद्धता जनाइएको छ ।समितिमा विवाद समाधानका लागि एक उपसमिति वनाई प्रतिवेदन तयार गर्न मेयर राजन श्रेष्ठले निर्देशन दिएका छन् । बिदुर नगर क्षेत्रभिका चारहजार आठसय घरधुरीलाई पिउने पानीको व्यवस्थापन तथा सहजीकरण गर्दै आइरहेको बिदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई अझै प्रभावकारी तथा मजबुत बनाउँदै नगरबासीलाई स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउन बिदुर नपा प्रतिबद्ध रहेको मेयर राजन श्रेष्ठले बताए ।

उनले आपसी विवादलाई समधान गरि उपभोक्ताको हितमा केन्द्रीत हुन निर्देशन दिए । संस्थाकै पदाधिकारीहरुले सत्याग्रहमार्फत उठाइएका विषयलाई सम्बोधन गर्न शुक्रवार नपा कार्यालयमा आयोजित सर्वपक्षीय तथा सर्वदलीय कार्यक्रममा मेयर श्रेष्ठले संस्थाभित्र देखिएका समस्या समाधानका लागि एउटा उपसमिति गठन गरी विस्तृत प्रतिवेदन तयार गर्न निर्देशन दिएका छन् । संस्थालाइृ चलायमान वनाई जनहितमा क्रियाशील वनाउनसमेत उनले निर्दैशन दिएका छन् ।

बिदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई मजबुत बनाई नगरबासी उपभोक्तालाई स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउनको लागी उठेका सवाललाई एकीकृत गर्दै सस्थाँगत सुधार र पानी वितरणलाई प्रभावकारी बनाउन एक उपसमिति बनाई प्रतिवेदन तयारी गरेर त्यसले सिफारिस गरे अनुसार कार्य योजनालाई कार्यान्वयनमा ल्याउन मेयर श्रेष्ठले निर्देशन दिएका हुन् । कार्यक्रममा उपमेयर प्रभा बोगटी, विभिन्न वडाको अध्यक्षहरु, बिदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष सञ्जिववहादुर श्रेष्ठ, उपाध्यक्ष राजेन्द्र पाण्डे, सचिव रघुनाथ रिमाल, कोषाध्यक्ष अम्विका चित्रकार, सदस्यहरु, कार्यालय प्रमुख राजकुमार तिमिल्सिनालगायत विभिन्न समुदायका अगुवा प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, आमउपभोक्तालगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
























































