बाढी प्रभावितहरुका लागि आपतकालीन स्वास्थ्य केन्द्र सन्चालन

मुख्यमन्त्रीले गरे उद्घाटन
देवचन्द्र भट्ट
२०८३ आश्विन ९, शुक्रबार २१:५४

बिदुर – लेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले प्रभावित पारेकाहरुको स्वास्थ्य सुरक्षाका लागि नुवाकोटमा आपतकालीन स्वास्थ्य सेवा केन्द्र सन्चालन गरिएको छ । उक्त केन्द्रको वागमति प्रदेशका मुख्यमन्त्री किरण थापामगरले उद्घाटन गरे । नुवाकोटमा प्रलयकारी बाढीका कारण विस्थापित भएकाहरुको स्वास्थ्य उपचारको प्रभावकारिताका लागि उक्त केन्द्र सन्चालन गरिएको हो ।

बाढीले सडक तथा यातायात सम्पर्क विच्छेद गरिदिएपछि प्रभावितहरुको उपचारका लागि पिपलटारमा आपतकालीन तथा आधारभुत स्वास्थ्य सेवा केन्द्रको सन्चालन गरिएको हो । प्रलयकारी बाढीले जिल्ला अस्पताल कोलोनी जाने त्रिशूली नदीमा ढुंगे र त्रिशूलीवजारको वीचका दुई वटा पक्कि पुल बगाएपछि अस्पतालसम्म पुग्न कठिनाइ भोगिरहेका बाढी पीडितहरुका लागि बागमती प्रदेश सरकारले नुवाकोटको विदुर नगरपालिका ५ पिपलटारमा आपतकालीन तथा आधारभुत स्वास्थ्य सेवा सुरु गरेको हो । वागमति प्रदेश सरकार, वागमति स्वास्थ्य मन्त्रालय, त्रिशूली अस्पताल र जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको साझेदारीमा उक्त केन्द्र सन्चालन गरिएको हो ।

बाढीले पुल ध्वस्त पारेर त्रिशूली अस्पतालसँगको सहज पहुँच टुटेका सर्वसाधारणलाई स्थानीयस्तरमै उपचार उपलब्ध गराउने उद्देश्यले चार शय्याको उक्त स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले जानकारी दिए । उनका अनुसार उक्त केन्द्रवाट बाढी पीडितहरुका लागि प्रभावकारी रुपमाा स्वास्थ्य उपचार सेवा सनचालन गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले कार्यक्रमकावीच पिपलटारमा रहेको आयुर्वेद अस्पतालका भवनको संरचना व्यवस्थापन गरी स्थापना गरिएको केन्द्रको उद्घाटन गरेका हुन् ।

उनले केन्द्रवाट बाढी पीडित तथा विरामीहरुको प्रभावकारी स्वास्थ्य सुरक्षाको कार्य व्यवस्थापन हुने प्रतिवद्धता जनाए । स्वास्थ्य केन्द्रको शुभारम्भ गर्दै मुख्यमन्त्री थापाले विपत् प्रभावित नागरिकलाई उपचारबाट वञ्चित हुन नदिन प्रदेश सरकारले उपलब्ध स्रोत र जनशक्ति परिचालन गर्ने बताए । उनले ‘परिस्थिति जस्तोसुकै भए पनि त्यसलाई व्यवस्थापन गर्दै स्वास्थ्य सेवा सुरु गरेको र अब नुवाकोटवासीले आधारभूत स्वास्थ्योपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता हट्ने,’ वताए । वागमति प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र विश्व स्वास्थ्य संगठन डब्लुएचओको सहयोगमा केन्द्रबाट आकस्मिक, बहिरंग तथा प्रसूति सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

पुल वगाएपछि सडक र पुलको पहुँच अवरुद्ध भएकाले सामान्य उपचारका लागिसमेत नुवाकोटको पुर्वी भेगका सर्वसाधारणलाई जिल्ला अस्पताल जान नसकी अन्यत्र तथा काठमाडौं जानुपर्ने बाध्यता उत्पन्न भएकोमा यस आपतकालीन स्वास्थ्य केन्द्र सन्चालनले नुवाकोटवासीलाई सुविधा पुगेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका अध्यक्ष शिवकुमार चित्रकारको भनाई छ । उनका अनुसार एक महिनादेखि विदुर र बेलकोटगढी नगरपालिका तथा लिखु, सुर्यगढी, तादी, दुप्चेश्वर, शिवपुरी, ककनी गापासहित अन्य क्षेत्रका विरामीलाई समेत त्रिशूली अस्पताल जान कठिनाइ भइरहेको छ । त्रिशूलीवजारमा बिदुर नपाको पहलमा बेलिव्रिजको निर्माण कार्य भइरहेको मेयर राजन श्रेष्ठले जानकारी दिए ।

पुल नहुँदा प्रादेशिक अस्पतालसम्म पुग्न कठिनाइ भइरहेको अवस्थामा डब्लुएचओको सहयोगमा आकस्मिक तथा आधारभूत स्वास्थ्य सेवासँगै भिडियो परामर्श सेवासमेत सुरु गरिएको छ । विश्व स्वास्थ्य संगठनले पनि भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रका स्वास्थ्य संस्थामा पहुँच अवरुद्ध भएको र अत्यावश्यक स्वास्थ्य सेवाको निरन्तरता कायम राख्न सरकारी निकायसँग सहकार्य गरिरहेको जनाएको छ । उक्त केन्द्रमा स्वास्थ्य उपकरण, औषधि र जनशक्तिको परिचालन गरिएको छ ।

आवश्यक स्वास्थ्यकर्मी अन्य प्रादेशिक अस्पतालबाट खटाइएको र त्यसबाट पनि अपुग भए करारमा जनशक्ति नियुक्त गर्न बजेट व्यवस्थापन गरिने जनाइएको छ । उक्त केन्द्र उद्घाटन कार्यक्रममा वागमति प्रदेशका पुर्व मुख्यमन्त्री वहादुरसिंह लामातामाङ, आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेल, स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ, जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरी, विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायतले नुवाकोटमा बाढी पछिको अबस्था र आगामी दिनमा गर्नुपर्ने पुर्ननिर्माण तथा पुर्नउत्थानका विषयमा जोड दिएका छन् ।


सर्वाधिक रुचाइएको