स्वास्थ्य लेख
नर्सिङ स्वास्थ्य सेवाको क्षेत्रमा परिचित र सक्रिय शव्द हो । अधिकांशले नर्सिङ पेसा रोज्नुको मुख्य कारण पनि मानवप्रति स्वास्थ्य सेवाको भावना हो । बिरामी, असहाय तथा आवश्यकता भएका व्यक्तिहरूको हेरचाह गर्दै उनीहरूको स्वास्थ्य सुधारमा प्रत्यक्ष योगदान दिन सकिने भएकाले यो पेसा अत्यन्त सम्मानित र जिम्मेवार रहेको छ । यद्यपि, अहिले नेपालमा नर्सिङ पेसा गर्नेहरु विदेश समेत गइरहेका छन् ।
नेपालमै अध्ययन गरेर नेपालमै यस पेसालाई निरन्तरता दिनु पर्ने आवस्यकता छ । नर्सिङ सेवा पृथक सेवा हो । तर, पनि विदेश जानेहरु वढिरहेको पाइन्छ । नेपालमा हालसम्म रजिस्टर्ड नर्स ८८ हजार २ सय ३२, ब्याचलर इन मिडवाइफ्री एकसय ९५, स्पेसलिस्ट नर्स एकहजार ९ सय ५६ रजिस्टर्ड एएनम ३७ हजार ७ सय १, र फरेन नर्स आठसय ५६ गरी जम्मा एकलाख २८ हजार आठ ४० जना नर्सहरू रहेका छन् । मानव सेवाको भावनासँग जोडिएको यो पेसा आज विश्वभर मान्यता प्राप्त व्यवसायिक अनि प्राविधिक पेसाका रूपमा स्थापित भएको छ ।
समयसँगै नर्सिङ पेसाप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको छ । यद्यपि, हाम्रो देशमा दक्ष नर्सहरूको उचित परिचालन तथा क्षमता अनुसारको अवसर अझै पूर्ण रूपमा सुनिश्चित हुन सकेको छैन । यसर्थ, चुनौतीहरूका बाबजुद पनि बिरामीको सेवामा समर्पित भएर काम गर्न पाउनु, उनीहरूको पीडा कम गर्न सहयोग गर्नु तथा समाजको स्वास्थ्य सुधारमा योगदान दिन सकिने भएकाले अधिकांश युवतीहरुको रोजाई नर्सिङ पेसा हुन गएको हो । नर्सिङ केवल जागिर मात्र नभई सेवा, समर्पण, सहानुभूति र जिम्मेवारीको प्रतीक भएकोले यस पेसाप्रति गर्व र सम्मान रहेको छ ।
आजका दिनमा नर्सिङ पेसा रोज्ने धेरै विद्यार्थीहरूले “विदेशमा गएर सेवा गर्ने” उद्देश्य व्यक्त गर्ने गरेको पाइन्छ । यसको मुख्य कारण देशभित्र पर्याप्त अवसर, उचित तलब–सुविधा, सुरक्षित कार्य वातावरण तथा पेशागत सम्मानको कमी हुनु हो । अर्कोतर्फ, नेपालमा नर्स र बिरामीको अनुपात सन्तुलित नहुँदा गुणस्तरीय सेवा प्रवाहमा असर परेको देखिन्छ । अत्यधिक कार्यभार, सीमित जनशक्ति तथा उचित व्यवस्थापनको अभावले नर्सहरूमा निराशा, मानसिक तनाव तथा पेशाप्रति असन्तुष्टि बढिरहेको अवस्था छ ।
अन्यको तुलनामा धेरै लगानी गरेर नर्सिङ अध्ययन गरे पनि यस पेशाको सम्भावना र आवश्यकताअनुसार अवसर तथा उचित व्यवस्थापन हुन नसकेको अवस्था देखिन्छ । नर्सको आवश्यकता अस्पताल वा स्वास्थ्य चौकीमा मात्र सीमित नभई ठूला उद्योग, विद्यालय, वृद्धाश्रम, पुनस्र्थापना केन्द्र, सामुदायिक स्वास्थ्य कार्यक्रम, बीमा क्षेत्र, अनुसन्धान, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरूमा समेत उत्तिकै रहेको छ ।
यी क्षेत्रमा नर्सिङ जनशक्तिको उचित उपयोग, दरबन्दी व्यवस्थापन तथा आकर्षक सेवा–सुविधाको अभावका कारण धेरै नर्सहरू विदेशमुखी भइरहेका छन् । यस समस्याको उचित व्यवस्थापनका लागि सरकारले स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति अनुसार नर्सहरूको नियुक्ति तथा परिचालन गर्नुपर्छ ।
नर्सहरूको क्षमता र दक्षता अनुसार जिम्मेवारी प्रदान गर्दै उचित तलब, प्रोत्साहन, वृत्ति विकासका अवसर तथा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न आवश्यक छ । साथै, अहिलेको अवस्थामा नर्सिङ पेसाको सम्मान वृद्धि गर्ने, निर्णय प्रक्रियामा नर्सहरूको सहभागिता बढाउने तथा विदेश पलायन रोक्न दीर्घकालीन नीति निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ ।











































