सडकमै चालकहरुको स्वास्थ्य परिक्षण
बिदुर – ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत नुवाकोटमा विभिन्न जनचेतनामुलक कार्य गरिएको छ । कार्यक्रमको तेस्रो दिन सडकमा गुडिरहेका चालकहरुको चालकहरूको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला ट्राफिक कार्यालय नुवाकोट र त्रिशूली अस्पतालले विदुरमा चालकहरूको स्वास्थ्य परीक्षण सम्पन्न गरेको हो ।

विद्यार्थीहरुलाई जनचेतनामुलक कार्यक्रमसमेत गरिएको छ । मुख्य सडकमार्गमा गुडिरहेका गाडीका ३७ जना चालकहरुको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक विनोद ढकालले जानकारी दिए । उनका अनुसार स्वास्थ्य परिक्षणमा ६ जनाको आँखामा कमजोरी, ४ जनाको उच्च रक्तचाप र ३ जनाको सुगर हाई भएको पाइएको छ ।

साथै चालकहरूलाई आवश्यक स्वास्थ्य परामर्श र उपचारको लागि सुझाव प्रदान गरिएको छ । ट्राफिक सप्ताह २०८३ को सन्दर्भमा चालकहरूको स्वास्थ्य परीक्षण विद्यार्थीहरूलाई कक्षा सञ्चालन तथा विभिन्न सवारी साधनहरूमा स्टिकर टांस गरिएको छ । त्रिशूली अस्पतालका प्रमुख डा. राजेन्द्र लामासहितको स्वास्थ्य टोलीले पहिलो चरणमा ३७ जना विभिन्न गाडीका चालकहरूको स्वास्थ्य परीक्षण गरेको हो ।

कार्यक्रम अन्तर्गत सर्वसाधारण तथा सुरक्षाकर्मीहरुको स्वास्थ्य परीक्षण, मास्क वितरणका साथै जिल्ला प्रहरी कार्यालय अन्तर्गत कार्यरत प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियम, सडक सुरक्षा तथा जिम्मेवार सवारी सञ्चालन सम्बन्धी अभिमुखीकरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक बिनोद ढकालले जानकारी दिए । “ट्राफिक नियम पालना गरौँ, सुरक्षित यात्रा बनाऔँ” भन्ने सन्देशसहित सञ्चालन गरिएको कार्यक्रममा सडक दुर्घटना न्यूनीकरण, अनुशासन तथा ट्राफिक नियम जनचेतना अभिवृद्धिमा विशेष जोड दिइएको ढकालको भनाई छ ।

यसका साथै विदुर नपा ५ स्थित चन्द्रज्योति माविमा अध्ययनरत विद्यार्थीहरुलाई ट्राफिक सचेतना प्रदान गरिएको छ । वसमा यात्रारत विद्यार्थी तथा सर्वसाधारणलार्यसमेत ट्राफिक नियम सम्वन्धि जानकारी गराइएको छ । ट्राफिक प्रहरीको अभियानले सुरक्षित यात्रा र दुर्घटना न्युनीकरणको विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।


























































