फोहोर व्यवस्थापनका सम्वन्धमा मन्त्रिको चासो
बिदुर – काठमाडौ उपत्यकाको फोहोर दैनिक रुपमा विसर्जन गरिदै आएको नुवाकोटको बञ्चरेडाँडा फोहोर व्यवस्थापनका सम्बन्धमा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चासो दिएका छन् । उनले फोहोर प्रभावित स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासंग फोहोर व्यवस्थापनका सम्बन्धमा अन्र्तक्रिया गरेको केहि दिनमै काठमाडौ महानगरको टोलीसंग अन्र्तक्रिया गरेका हुन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. तिमिल्सिनाले ककनी गाउंपालिकामा रहेको बञ्चरेडाँडा ल्यान्डफिल साइट केवल काठमाडौंको फोहोर व्यवस्थापनको विषय मात्र नभई स्थानीय समुदायको जीवन, स्वास्थ्य, वातावरण र सम्मानसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताउंदै यसको प्रभावकारी नियन्त्रणका विषयमा चासो दिएका हुन् ।

काठमाडौं महानगरपालिकाका सम्बन्धित अधिकारीहरूसँग उनले समस्या समाधानका सम्वन्धमा वृहत छलफलसमेत गरेका हुन् । मन्त्रि डा. तिमिल्सिनाले बञ्चरेडाँडा ल्यान्डफिल साइटका वर्तमान समस्या, स्थानीय समुदायका गुनासा तथा दीर्घकालीन समाधानका उपायका सम्वन्धमा विस्तृत छलफल गरेका हुन् । नुवाकोट–१ का प्रपतनिधि सभा सदस्यको रूपमा उनले स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएका वातावरणीय, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक प्रभावका विषयलाई गम्भीरतापूर्वक उठाएका हुन् ।
तत्काल स्थानीय प्रभावितका सम्बोधन गर्न सकिने विषय तथा दिगो फोहोर व्यवस्थापन प्रणाली निर्माणका लागि आवश्यक नीतिगत र संरचनागत सुधारका विषयमा समेत छलफल गरिएको हो । उनले बञ्चरेडाँडाको समस्या केवल नुवाकोटको मात्र नभई सम्पूर्ण उपत्यकाको साझा जिम्मेवारीको विषय भएको उल्लेख गर्दै स्थानीय समुदायको सम्मान, वातावरणीय न्याय र दिगो समाधान सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग निरन्तर समन्वय, संवाद र पहल जारी रहने बताए ।










































